१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

कमरेडहरू, भागबण्डाका लागि रूवाबासी गर्नुअघि ओलीको जस्तो काम देखाउनुस्


-रूपेश खतिवडा 

मुलुकका दुई ठूला कम्यूनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको ऐतिहासिक एकता पछि बनेको नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) मा दुई वर्ष वित्न नपाउदै आन्तरीक कलह सतहमा नै छताछुल्ल भएको छ । कम्यूनिष्ट पार्टी भित्र राजनैतिक वैचारीक वादविवाद र अन्तरविरोध हुनु स्वभाविकै हुन्छ तर व्यक्तिगत र गुटगत स्वार्थको विवादले पार्टीलाई कमजोरमात्र हैन विभाजनको तह सम्म पुर्याउने कुरा इतिहासले पुष्टि गरेकोछ ।

जहानीया राणा शासन विरोधि आन्दोलन, सामन्तवाद साम्राज्यवाद विरोधि आन्दोलन र राष्ट्रिय स्वाधिनताको आन्दोलनको अगुवाई गर्दै नेपाली श्रमजिवि सर्वहारा वर्गका जनताको मुक्तिका लागि समाजवाद हुंदै साम्यवादी राज्य व्यवस्था स्थापनाको मूख्य लक्ष्य राखेर वि.सं. २००६ साल वैशाख १० गते नेपालमा पहिलोे कम्यूनिष्ट पार्टीको रुपमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना भएको हो । यस पार्टीको संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो भने अन्य संस्थापकहरुमा नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निरन्जन गोविन्द वैद्य र मोतिदेवि श्रेष्ठ हुनुहुन्थ्यो ।

२०१७ साल पछि नेपालका कम्यूनिष्ट पार्टीहरु राजनैतिक वैचारीक मतभेदका बाहानावाजी गर्दै मूलतः व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थकै कारण विभिन्न टुक्रामा विभाजीत हुंदै आएको तितो सत्य हाम्रो सामु छर्ल¨ छ । नेपालमा कम्यूनिष्ट पार्टी एकिकरणको सुरुवात मुलतः २०४६ सालको जनआन्दोलनमा तात्कालिन अवस्थाका दुई मूख्य कम्यूनिष्ट पार्टीहरु नेकपा माले र नेकपा माक्सवादीका महासचिवहरु क. मदन र क. मनमोहनको अगुवाईमा वाम एकताको आवश्यकता औचित्य महशुस गरी अन्य वामपन्थी समुहहरुलाई समेत समेटेर वाममोर्चा गठन गरी वाममोर्चाको अगुवाईमा आन्दोलन सफलता पूर्वक सम्पन्न भयो । त्यसपश्चात २०४७ सालमा दुइपार्टीका विचमा ऐतिहासिक एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत माक्सवादी लेनिनवादी ) निर्माण भयो ।

यस पार्टीको संस्थापक अध्यक्ष क. मनमोहन अधिकारी हुनुभयो भने महासचिव क.मदन भण्डारी हुनुभयो । २०४९ सालमा सम्पन्न नेकपा एमालेको पांचौं महाधिवेशनबाट कम्यूनिष्ट पार्टीलाई लोकतान्त्रीकरण गर्दै शान्तीपूर्ण संघर्स र बहुदलिय प्रतिस्पर्धाका माध्यमबाट कम्यूनिष्ट पार्टीको सत्ता स्थापना गर्न सकिन्छ भन्ने मान्यता बोकेको, विश्वमैं नयां प्रयोगको रुपमा रहेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम “जनताको बहुदलिय जनवाद” जननेता क.मदन भण्डारीले प्रतिपादन गर्नुभयो ।

जबज कै मार्गदर्शनमा अगाडी वढेको कम्यूनिष्ट पार्टी ( एमाले ) ले २०५१ सालमा नेपालको इतिहासा पहिलो पल्ट कम्युनिष्ट पार्टीको सरकार स्थापना गर्न सफल भयो र पार्टी अध्यक्ष क. मनमोहन अधिकारी नेपालको पहिलो कम्यूनिष्ट प्रधानमन्त्री बन्नुभयो । मनमोहन अधिकारी नेतृत्वको छोटो अवधिको ( नौ महिना ) सरकारले जनतामा नयां उत्साह र विश्वास सृजना गर्न सफल भयो र आज सम्म जनताको मन मस्तिष्कमा अमिट छाप छोडन सफल भएकोछ । यसै कारण क. मनमोहन अधिकारी र क. मदन भण्डारीको नाम कम्यूनिष्ट आन्दोलनको इतिहासमा अजर अमर रहेकोछ र रहिरहनेछ ।

त्यस पछाडीका दिनमा आउंदा ०६२।०६३ को शान्तिपुर्ण जनआन्दोलनबाट राजतन्त्रको समुल अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना कम्यूनिष्ट आन्दोलनका लागि अर्को ऐतिहासिक घटना इतिहासमा उल्लेखित हुन पुगेकोछ । यसको पनि श्रेय जवजका प्रणेता जननेता क. मदन भण्डारीलाई नै जान्छ । यो ऐतिहासिक उपलब्धि पनि बामपन्थि पार्टीहरुकै सहमति र सहकार्यबाट स्थापित हुन पुगेको हो तर बिडम्बना कम्यूनिष्ट पार्टीहरुका विचमा सहकार्य र एकता भने हुन सकेन त्यो अवसर तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहनु भएका कमरेडहरु क. माधव नेपाल र क. प्रचण्डलाई थियो ।

फरक विषेश क्षमता प्रदर्शन गर्न नसक्दा कम्युनिष्ट आन्दोलनको इतिहासमा क. पुृष्पलाल, क. मनमोहन र क. मदन भण्डारी सो सरहको स्थान ओगट्न असमर्थ रहनुभयो । २०६४, २०७० र २०७४ को निर्वाचनको परिणामलाई हेर्दा कम्यूनिष्ट पार्टीहरुले बहुमत मत प्राप्त गर्न सकेता पनि विभाजित भएका कारण कम्यूनिष्ट पार्टीको बलियो र स्थिर सरकार स्थापना हुन सकेन । त्यही अस्थिरताको फाईदा उठाएर भारतले २०७२ आश्विन ६ गते बाट अघोषित नाकावन्दी गरी सिंगो नेपाल र नेपालीको सार्वभौमसत्ता माथि आघात पुर्यायो । त्यो समयमा नेपाली कांग्रेसका नेता शुशिल कोइरालाको नेतृत्वमा सरकार थियो तर नाकावन्दीको विरुद्धमा चुं सम्म बोल्न सकेको थिएन ।

संयोगवस नाकावन्दी कै विचमा तात्कालीन नेकपा एमालेका अध्यक्ष क.केपी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्री हुनुभयो । नेपाल र नेपालीका लागी कष्टदायी बनेको उक्त नाकाबन्दीका विरुद्ध क. केपी ओलीको साहासिक राष्ट्रियताको आन्दोलनले सम्पुर्ण नेपालीहरुको अपार समर्थन प्राप्त गर्यो र भारतीय शासकलाई घुडा टेकाई छाड्यो । यसले केपी ओलीमा रहेको फरक र विशेष क्षमता उजागर मात्र गरेन आम नेपाली जनतामा कम्यूनिष्ट पार्टी प्रति नयां उत्साह र विश्वास सृजना गरीदियो ।

क. माधव, क. झलनाथ र क प्रचण्ड तपाईहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत हुनु भएकै हो नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा क. पुष्पलाल, क. मनमोहन, क. मदन भण्डारीको वरावरीमा केही त्यस्तो अमर छाप छोडन सक्नुभयो या भएन आत्मसमीक्षा गर्नुहोस् । र अब पनि त्यो इतिहास बनाउन सक्नुहुन्छ कि हुदैन स्वमुल्यांकन गर्नुहोस । यदि सक्नहुन्न भने अव केका लागि पुन अध्यक्ष र प्रधानमन्त्रीको चाहाना राख्दै हुनुहुन्छ ।

क. केपी ओलीले आसन्न २०७४ मंसिर १० र २१ को निर्वाचनबाट कम्यूनिष्ट पार्टीको वलियो र स्थिर सरकारको आवश्यकता बोध गरी नेकपा माओवादी केन्द्र संग चुनावी तालमेल गर्ने कामको नेतृत्व लिनुभयो र सफल पनि हुनुभयो । चुनावी तालमेलले ऐतिहासिक विजय प्राप्त गर्यो र त्यसकै जगमा नेकपा एमाले र नेकपा मओवादी केन्द्र विच स्थिरता, दिगो शान्ति र संमृद्धिको मुख्य उद्धेश्यका साथ २०७५ जेष्ठ ३ गते पार्टी एकता सम्पन्न भई नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) निर्माण भएकोछ ।

भारतीय नाकाबन्दिका विरुद्धको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा राष्ट्र प्रमुखका हैसियतमा खेलेको क. केपी ओलीको भुमिका प्रति नेपाली जनताको अपार समर्थन र पार्टी एकताको जगमा “ आगामी स्थिर सरकार केपी ओली नेतृत्वको, अल्पमतको हैन बहुमतको ” भन्ने जनचाहाना अनुरुप २०७४ को संसदीय निर्वाचनमा ऐतिहासिक विजय प्राप्त भएको हो र पार्टी अध्यक्ष कमरेड केपी ओली पार्टी एकताको भावना मुताविक दिगो शान्ती, स्थायीत्व र संमृद्धिका लागि आगामी ५ वर्ष सम्मका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । यो वास्तविकतालाई अनदेखा गरी इतिहासकै सवैभन्दा ठूलो पार्टी र सर्वाधिक मत प्राप्त सरकारको नेतृत्वमाथि आम मतदाताको म्यान्डेट विपरीत ठाडो हस्तक्षेप गर्न खोज्ने जुनसुकै हैसियत र मर्यादाका भएपनि ति पार्टीका असलनेता र कार्यकर्ता हुनसक्दैनन् ।

क. माधव, क. झलनाथ र क प्रचण्ड तपाईहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत हुनु भएकै हो नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा क. पुष्पलाल, क. मनमोहन, क. मदन भण्डारीको वरावरीमा केही त्यस्तो अमर छाप छोडन सक्नुभयो या भएन आत्मसमीक्षा गर्नुहोस् । र अब पनि त्यो इतिहास बनाउन सक्नुहुन्छ कि हुदैन स्वमुल्यांकन गर्नुहोस । यदि सक्नहुन्न भने अव केका लागि पुन अध्यक्ष र प्रधानमन्त्रीको चाहाना राख्दै हुनुहुन्छ ।

तपाई मान्नुहोस नमान्नुहोस क. केपी शर्मा ओलीले मुलतः तिनवटा घटनाक्रमहरुः

१) भारतीय नाकाबन्दी विरुद्धको सम्पुर्ण नेपालीको समर्थन प्राप्त राष्ट्रिय स्वाधीनताको आन्दोलनको साहसिक नेतृत्व ।

२) पार्टी एकता गरि दक्षिण एसियामै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी स्थापनाको नेतृत्व ।

३) २०७४ को निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेको कम्युनिष्ट पार्टीको सरकार र त्यसको नेतृत्व गरेर क. केपी शर्मा ओलीले आफुमा रहेको विशेष फरक क्षमता प्रदर्शन गरि क. पुष्पलाल, क. मनमोहन र क. मदन भण्डारीको हाराहारीको स्थान नेपालको कम्युनिष्ट पार्टीको इतिहासमा बनाईसक्नु भएकोछ । वहांलाई अव जस्तो सुकै घटनाक्रमले पनि प्रभावित पार्ने म देख्दिन । प्रभाव पार्ने त केवल ति लाखौं लाख कम्युनिष्ट पार्टीका कार्यकर्ता र एकिकृत नेकपाको नयां पुस्ता जसले समाजवादी राज्य व्यवस्थाको सपना देखेकाछन् । हेक्का रहोस हामी खवरदारी गरेर बसेकाछौं ।

(खतिवडा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङको पार्टी स्कूल विभाग प्रमुख हुनुहुन्छ ।)

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार १४:३९