१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो पराजय


१८ फागुन, काठमाडाैँ । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा लगातार दोस्रो पराजय व्यहोरेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा ब्याटिङ कमजोर हुँदा नेपालमाथि हङकङले ४३ रनको जित हात पार्यो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो । नेपाल पहिलो खेलमा पनि मलेसियासँग २२ रनले पराजित भयो ।

लगातार दोस्रो पराजयसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट पुग्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर पाँचौं ओभरको चौथो बलमा कुशल व्यक्तिगत १९ रनमा आउट भए । पावर प्ले सकिँदा नेपालले १ विकेट गुमाएर ४९ रन बनाएको थियो । तर त्यसपछि नेपालले ६२ रन जोड्दा ९ विकेट गुमायो । पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन बनाएर आउट भए ।

१५औं ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालको सम्भावना क्षिण बनेको थियो । ज्ञानेन्द्र ४६ रनमा आउट हुँदा नेपाल ९०.६ को अवस्थामा पुग्यो । करण केसी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछानेले नै खाता खोल्न सकेनन् । आरिफ शेख १० रन बनाएर आउट भए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार १२:३४