१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

कोरोना संक्रमण : आफन्तसँग भेट्नै प्रतिबन्ध


३ फागुन, काठमाडौं चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको हो । सरकारले चीनको वुहान सहरमा रहेका १ सय ८५ नेपालीलाई छिट्टै फर्काउने तयारी गरेको छ । उनीहरूलाई खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा राखिने खबर अन्नपूर्ण पोस्टमा छ ।

सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन आग्रह गरेको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइन स्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अवलम्बन गरिएको छ ।

आज विमान पठाइँदै
उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज (शनिबार) त्यसतर्फ पठाइने भएको छ । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार सेनाको चिकित्सकको नेतृत्वमा चारजना स्वास्थ्यकर्मी वुहान जाँदै छन् । ‘विमान कति बजे उडान हुन्छ भन्ने तय भइसकेको छैन । जाने तयारी अन्तिम चरणमा छ’, उनले भने । टोलीमा सशस्त्र र नेपाल प्रहरी पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ०७:५२