१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

हत्यारा आलमको पक्षमा सडकमा जुलुश निकाल्ने कांग्रेसले गच्छदारका लागि के गर्ला ?


२३ माघ, काठमाडौँ । सधैं सत्ताको चास्नीमा चुर्लुम्म डुब्ने नेता हुन् विजयकुमार गच्छदार । सत्ताको चास्नीमा सधैं डुबुल्की लगाउने नेता गच्छदार अहिले भने भ्रष्टाचारको दलदलमा भासिएका छन् । त्यो पनि कहिल्यै नउम्किने गरी ।

राजनीतिक शक्तिको वरिपरि भुन्भुनाइरहने गच्छदार ‘जता मिल्ले उत्तै झिल्के’ नेता हुन् उनी । उनले जति राजनीतिक करिअरमा अवसर अरु कसले नै पाएको होला र । तर, राजनीतिक जीवनभर जनताको सेवा गर्छु भनेर अघि बढेका गच्छदार भ्रष्टाचारको चास्नीमा चुर्लुम्मै डुबे । अब त उनी कहिल्यै माथि नउस्कने गरी डुबेका छन् । झन्डै-झन्डै जेपी (जयप्रकाशप्रसाद) गुप्ता जसरी ।

हुन् त जेपी लामो जेल सजाय भोगेर अहिले खेती किसानीमै रमाइरहेका छन् । सायद अब पालो गच्छदारकै होला । अब उनी पनि जेल जानेछन् र आजीवन धर्मकर्म या खेतीकिसानीमै बिताउनेछन् । किन भने अब उनलाई न त जनताले काँध थाप्नेछन् । न त कानुनले नै ।

अहिले गच्छदारले गरेको पाप धुरीबाट कराउँदै छ । सधैं जनता र राज्यको दोहन गर्न पल्किएका गच्छदार, ‘अनि कराउँदैन त पाप धुरीबाट ?’ देखिएको अवस्था यही हो ।

यसरी राज्य र जनतामाथि पाप गर्ने गच्छदार एक्ला मतियार भने होइनन् । उनको पार्टी कुन भन्नु र खोइ । अवसरवादी जहिले जुनबाट स्वार्थसिद्ध हुन्छ उतै लाग्ने उनको प्रवृत्ति नै हो । उनले त कति भ्रष्टाचार गरे कति । जसको लेखाजोखा नै छैन । तर, पनि उनीविरुद्ध बालुवाटारको जग्गा व्यक्तिको नाममा गराउन संलग्न भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हुन त यो प्रकरणमा गच्छदारसहित ४ पूर्वमन्त्री, दुई पूर्वसचिवलगायत १७५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियारले पूर्वमन्त्रीहरु गच्छदारसँगै चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्तविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

त्यसैगरी पूर्वसचिव तथा अख्तियारकै पूर्वआयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । यस्तै यही प्रकरणका मुख्यपात्र भनिएका शोभाकान्त ढकाल तथा भाटभटेनी सुपरमार्केटका मालिक मीनबाहदुर गुरुङविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले पटक-पटक मन्त्री भएका गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीविरुद्ध ७ करोड ८ लाख ४८ हजार, डम्बरबहादुर श्रेष्ठविरुद्ध ९ करोड ६५ लाख ७६ हजार विगो कायम गरेको छ ।

त्यस्तै पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध ७ करोड ८ लाख ४८ हजार, दीप बस्नेतको ९ करोड ६५ लाख ७६ हजार, छविराज पन्तसँग ९ करोड ६५ लाख ७६ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

यो प्रकरणका मुख्यपात्र शोभाकान्त ढकालविरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसँग ११ करोड २० लाख रुपैयाँ बिगोसहित मुद्दा दर्ता भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

यसरी जोकोहीले राज्यको दोहन गर्न गिद्दे दृष्टि लगाउँछ एक न एक दिन त्यसको सजाय भोग्नै पर्ने पक्का हुन्छ भन्ने पाठ यसबाट पनि बुझ्न सकिन्छ । गच्छदारलगायत यो प्रकरणमा मुछिएकाहरुको पाप धुरीबाट कराएको प्रस्ट देखिन्छ ।

गच्छदारलाई पार्टीले निष्काशन गरिसकेको अवस्था छैन । कांग्रेस उपसभापतिसमेत रहेका गच्छदारलाई जोगाउन सिंगो पार्टी एकपटक पुन: जुर्मुराएको अवस्था छ । जसरी इँटा भट्टामा जिउँदै मानिसलाई हालेर जलाउने अफताब आलम जोगाउने व्यर्थको प्रयासमा लागेको कांग्रेस अब गच्छदारसँगै सति जाने तयारीमा छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, वरिष्ठ नेता रामचन्द्र पौडेलहरु षड्यन्त्र भएको भन्दै कुर्लिरहेको देख्न सकिन्छ । कुन दिन नेपाल बन्द भनेर घोषणा कांग्रेसले गर्‍यो भने यसलाई अनौठो नमान्दा हुन्छ ।

अब यसरी राज्य र जनताको सम्पत्तिमाथि दोहन गर्ने र गर्न लगाउने गच्छदारमाथि रामरामसम्म भन्न सकिएला काँधै त कसरी थाप्ने र ? भन्दै कांग्रेस पन्छिनु उसकै लागि हितकर हुन्छ अर्थात् वाञ्छनीय हुन्छ । त्यसैले पनि अब गच्छदारलाई पाप धुरीबाट करायो भन्नेबाहेक के नै भन्न सकिएला र ?

मृत्यु भएका ७ जनाको सजाय माफी
अख्तियारले ललिता निवास प्रकरणमा विशेष अदालतमा दायार अभियोगपत्रमा ७ प्रतिवादीको मृत्यु भइसकेकाले सजाय दाबी गरेको छैन । मृत्यु भइसकेकाले उनीहरुले गरेका भ्रष्टाचारजन्य क्रियाकलापमा दोषी ठहर गरिए पनि माफी पाएका छन् ।

उनीहरुबाट भएका भ्रष्टाचारका रकम कसूर हुँदाको सरकारी मूल्यांकनको रकम क्षतिपूर्तिसहित बिगो पनि माफीसहित मिनाहा हुने भएको छ । तर भ्रष्टाचार गरी जोडेको अचल सम्पत्ति वा पाएको सम्पत्ति भने जफत गर्ने दाबी अख्तियारले गरेको छ ।

यसरी मृत्यु भएकाहरुमा भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देश मुकुन्दप्रसाद आचार्य ७ लाख ५१ हजार, मालपोत कार्यालय डिल्लीबजारका नासु जगतप्रसाद पुडासैनी २ करोड २६ लाख, ८५ हजार ५ सय, सोही कार्यालयका मालपोत अधिकृत परशुराम पोखेल, ३२ करोड १९ लाख २० हजार रुपैयाँको भष्टाचार भएको देखिएको छ ।

त्यसैगरी, गैरकानुनी रुपमा जग्गा दर्ता गराएर जग्गाधनी र मोही भएका व्यक्तिहरुको पनि मृत्यु भएकाले उनीहरुलाई पनि सजाय नहुने उल्लेख गरिएको छ ।

त्यसैगरी सजाय नपाउनेमा मृतकहरु हेमनशमशेर राणा १३ करोड ५ पाँच लाख २२ हजार ५०, सुनीति राणा ८ करोड ६९ लाख ८२ हजार, शैलजा राणा ९ करोड ६३ लाख ४ हजार ५० रुपैयाँको बिगोसहित क्षतिपूर्ति छन् ।

थप यी पनि पढ्नुस् :

-कांग्रेसको प्रश्न : माधव नेपाल निर्णय गर्ने, विष्णु पाैडेल सिरानीमुनि लालपुर्जा राख्ने, मुद्दा गच्छदारलाई ?

-बालुवाटार जग्गा प्रकरण : ओली सरकारलाई भ्रष्टाचारविरूद्धको अभियानमा सबैभन्दा ठूलो सफलता

-यी हुन् बालुवाटार जग्गा प्रकरणमा अख्तियारद्वारा मुद्दा दायर गरिएका १ सय ७५ जना

-कांग्रेस उपसभापति गच्छदार सांसदबाट स्वतः निलम्बित

-नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

-नेकपा भएकै कारण माधव नेपाल माथि मुद्दा नचलाएको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ०८:२२