१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

तीन महिनादेखि नागरिक र रिपब्लिकाका पत्रकारले तलब पाएनन्, माघ २६ गतेबाट काम नगर्ने


१९ माघ, काठमाडौँ । कान्तिपुर दैनिकबाट ज्ञवाली समूह बाहिरिएपछि प्रकाशन सुरू भएको नागरिक दैनिक र रिपब्लिका डेली पत्रिका धराशायी बन्न पुगेको छ । विज्ञापनबाट मात्रै कुनै पनि पत्रिका सञ्चालन सम्भव नभएको वर्तमान अवस्थामा नागरिक दैनिक र रिपब्लिका डेली त्यस्तै संकटमा परेको छ । नागरिक दैनिकले काम गरेको ९० दिन बढी पूरा हुँदा पनि तलब नदिएपछि पत्रकारहरू आन्दोलित बनेका छन ।

८ जना पत्रकारले व्यवस्थापनलाइ संयुक्त पत्र लेखेर तीन महिनाको एकमुष्ठ तलब नदिए माघ २६ बाट हाजिर गर्ने तर काम नगर्ने चेतावनी दिएका हुन  । उनीहरूले माघ १६ गते तलब भुक्तानीका सम्बन्धमा भन्दै पत्र लेखेर भोकै काम गर्न नसक्ने जानकारी व्यवस्थापनलाइ गराएका छन । जिल्ला संवाददाताले १० महिनादेखि तलब नपाएको उनीहरूको पत्रमा उल्लेख गरिएको छ ।

उनीहरूले व्यवस्थापनले तलब भन्दा धेरै आश्वासन दिएको र त्यो कहिल्यै कार्यान्वयन नभएको बताएका छन । नागरिकले केही महिना अघि बिट रिपोर्टरको परामर्श बिनानै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अन्तरवार्ता लिएर प्रकाशन गरेको भन्दै एक पत्रकारसँग स्पष्टिकरण लिएर राजिनामा दिन बाध्य पारेको थियो । पछि फेरि नागरिकले खनालको दोस्रो अन्तरवार्ता पनि प्रकाशन गरेको थियो । दिलशोभा प्रकरणदेखि पाठकको विश्वास गुमाएको नागरिक दिनानुदिन ओरालो यात्रामा लागेको त्यही कार्यरत पत्रकारहरू बताउँछन ।

नागरिकले कागज किन्न समेत समस्या भएपछि गोरखापत्र संस्थानबाट गुपचुप १० टन कागज लगेको यसअघि दैनिकीले नै समाचार प्रकाशन गरेको थियो । 

पत्रकार/कर्मचारीको निवेदन तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०९:३५