१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

स्वदेशमै बसेर परिश्रम गर्ने शिक्षा आवश्यक छ : मन्त्री पुन


१३ पाैष, दमौली । गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेकामा जोड दिनुभएको छ । राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा आयोजना गरेको प्रदेशस्तरीय प्रथम भेलामा उहाँले शिक्षालाई व्यवहार र सीपसँग जोड्न नसकिए कुनै अर्थ नरहने बताउनुभयो ।

निजी विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी विदेशिने क्रम रहेको चर्चा गर्दै मन्त्री पुनले स्वदेशमै बसेर परिश्रम गर्न सक्ने खालको शिक्षा अहिले देशका लागि आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशभित्र आवश्यक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले पाठ्यक्रम निर्माणको तयारी गरेको मन्त्री पुनले जानकारी दिनुभयो ।

“शिक्षालाई सीप र व्यवहारसँग जोड्न सरकारले माध्यमिक तहको लागि ऐच्छिक पाठ्यक्रम बनाउन पहल थालेको छ”, मन्त्री पुनले भन्नुभयो । चालू आर्थिक वर्षमा प्रदेशका छ ठाउँमा नमूना आवासीय विद्यालय स्थापना गर्ने सरकारको तयारी रहेको भन्दै मन्त्री पुनले शिक्षाको गुणस्तर सुधार्न शिक्षामा लगानी वृद्धि गरिने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै मन्त्री पुनले शिक्षा र स्वास्थ्य निःशुल्क हुन सके सबै नेपाली सुखी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको बाध्यताका कारण शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन सकिएको छैन ।” शिक्षानीति बनाउन सबै क्षेत्रको सहभागिता गराइने बताउँदै मन्त्री पुनले व्यवहारमा लागू गर्न सकिने खालको नीति बनाइने बताउनुभयो ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले शिक्षाको अधिकार बाँडफाँटको विषयमा सबै तहका सरकारबीच अन्योल रहेकाले शिक्षा क्षेत्रमा असर परिरहेको बताउनुभयो । शिक्षा नीति बनाउँदा सङ्घीय सरकारले एनप्याब्सनसँग सहकार्य नगरेको भन्दै उहाँले एनप्याब्सनलाई बाहिर राखेर बनाइएको शिक्षा ऐन व्यवहारमा लागू हुन गाह्रो पर्ने बताउनुभयो ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक यम खड्का, केन्द्रीय उपाध्यक्ष कैलाश कार्की, प्रबोधकुमार रिजाल, सुबोधकुमारी डाँगी, महासचिव सुवास न्यौपानेलगायतले सबै सरकारको चेपुवामा अहिले शिक्षा क्षेत्र परेको बताउनुभयो । भेलामा तनहुँ, कास्की, नवलपुर, बागलुङ र लमजुङका १५० भन्दा बढी विद्यालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ११:००