१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

जहाँ स्वार्थ, त्यहाँ विकास !


१ मंसिर, काठमाडौं । मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकास्थित खैराङमा रहेको ठूलोटोड्के-ज्याबराङ-चरीमारा सडक गाउँपालिका र प्रदेश सरकारले निर्माण गर्‍यो । सडक ठाउँठाउँमा भत्किसकेको छ । पदैल यात्रीलाई पनि समस्या छ ।

आव ०७५/७६ मा राक्सिराङ गाउँपालिकाले सडक निर्माण गरेपछि प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फराकिलो बनाउन लगानी गर्‍यो । दुई निकायले निर्माण गर्दा पनि सडक निर्माण पूरा हुन नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

मकवानपुरकै कैलाश गाउँपालिका २, छ्याङदुङदेखि सानो डाँडाखर्कसम्मको सडक निर्माण पूरा भएपछि उपभोक्ता समितिले भुक्तानी लिन ३ महिना गाउँपालिका धाउनुपर्‍यो । अन्यत्रबाट डोजर ल्याएर प्रयोग गरेको भन्दै जनप्रतिनिधिले निर्माण सम्पन्न भएको सिफारिस र भुक्तानीमा दुःख दिएको उपभोक्ता समितिकी अध्यक्ष सरिता मगर बताउँछिन् ।

धादिङमा पनि विकास निर्माणका काममा बेथिति मौलाउँदै गएका छन् । गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ स्वयं कर विवादमा मुछिए । व्यक्तिगत प्रयोजनका लागि गाउँपालिकामा नगद बुझाएको रसिद काटेको घटना सार्वजनिक भएपछि उनले पछि कर बुझाएका थिए ।

गाउँगाउँबाट सेवा दिने भनेर बनाइएको स्थानीय सरकार गाउँमा नबसेर सदरमुकामबाटै सेवा दिइरहेका छन् । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका अधिकांश वडामा सडक पुगेको छैन । तर सबै वडाध्यक्ष र पालिका अध्यक्षले सरकारी सवारीसाधनको सुविधा लिइरहेका छन् ।

सिन्धुलीमा जनप्रतिनिधिले आफ्नो डोजर चलाउन जथाभाबी सडक खन्दा स्थानीय घरबारविहीन हुने चिन्ता थापिएको छ । सिन्धुलीको सोलाभन्ज्याङ-नागी ग्रामीण सडक, मदन भण्डारी लोकमार्गको सिन्धुली-मरिण खण्ड, दुम्जा-मरिण-कपिलाकोट-लालबन्दी सडक, चिसापानी-डाकाहा-चकमके सडकमा यस्तो समस्या आएको स्थानीय बताउँछन् ।

सडक डिभिजन कार्यालय खुर्कोटले ठेक्का लगाएर झन्डै १० किमि कालोपत्रे थालिएको सोलाभञ्ज्याङ-नागी ग्रामीण सडक आयोजनाले ९ मिटर चौडा गर्दा कमलामाई नगरपालिका ३ र सुनकोसी गाउँपालिका ७ का दुई दर्जन बढी स्थानीयको घरघडेरी नष्ट भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०८:०९