१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

अफताब आलम पूर्पक्षका लागि थुनामा


२९ कात्तिक, काठमाडौं । जिउँदै मान्छे इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रौतहटले आदेश दिएकाे छ । बिगत १० दिनदेखि चलिरहेको आलमको मुद्दामा थुनछेक आदेश सुनाउँदै जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाएको हो।

जिल्ला अदालतले आलमले अदालतमा पेस गरेकाे प्रारम्भिक प्रमाणका आधारमा निर्दोष रहेको ठहर नभएकाले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। जिल्ला अदालतको आदेशपछि फैसला नभएसम्मका लागि आलम  थुनामा गएका हुन् । सरकारी वकिलको कार्यालय, रौतहटले आलमलाई ४५ वर्ष कैद सजायको माग गरेको थियो । आलमलाई त्रिलोकीप्रता प सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो।

आलम लगायत बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले  मुद्दा दायर गरेको थियो । त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ। पूर्वमन्त्रीसमेत रहेका आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार १७:५०