१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

बिआरआईबाट नुवाकोटले धेरै फाइदा लिन सक्छः अनुजकुमार श्रेष्ठ (अन्तर्वार्ता)


नेपालको पुरानो राजधानी भएको जिल्ला नुवाकोट वर्तमान राजधानी काठमाडाैँबाट एकदमै नजिक भएर पनि विकासका दृष्टिले धेरै पछि परेको छ । नुवाकोटले थुप्रै वरिष्ठ राजनीतिज्ञ जन्मायो, उच्चतहका प्रशाशक पनि जन्मायो, नीति निर्माणको क्रममा नुवाकोटका प्रतिनिधिको सक्रियता देख्दा लोभलाग्दो थियो र छ । अझै राज्य सञ्चालनका विभिन्न संयन्त्रमा बसेर काम गर्ने कुरा गर्दा बहुदीय व्यस्थापछि बनेका हरेकजसो सरकारमा नुवाकोटका नेताले अवसर पाए तर जिल्लाको विकासका निम्ति कहिल्यै सकारात्मक पहलकदमी जुरेन ।

तर पछिल्लो समयमा नुवाकोटको विकासका निम्ति धेरै चिन्ता र चासो हुने गरेको छ । राजनीतिक र गैरराजनीतिक सबै खालका व्यक्तिहरूले नुवाकोटको विकासका लागि पहलकदमी लिन थालेका छन । यस्तैमा नुवाकोटको विकासका बारेमा चासो र चिन्ता प्रकट गर्ने एक जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका युवा नेता अनुजकुमार श्रेष्ठ हुनुहुन्छ ।

श्रेष्ठ लामो राजनीतिक पृष्ठभूमि रहेको छ । २०४६ सालमा अनेरास्ववियुकाे सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका श्रेष्ठ विद्यालको प्रारम्भिक कमिटी हुँदै २०४९ सालमा अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको काेषाध्यक्ष हुनुभयो । २०५१ सालमा अनेरास्ववियु नुवाकोटको सचिव हुँदै २०५३ सालमा श्रेष्ठ जिल्ला कमिटीको अध्यक्ष हुनुभयो । उहाँले २०५० सालमै तत्कालीन प्रजातन्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघको सदस्यता लिइ विदुर नगरकमिटीको कोषाध्यक्ष हुनु भएको थियो । पछि उहाँ २०५३ सालमा अनेरास्ववियुको बागमती अञ्चल कमिटीको सदस्य हुनुभयो ।

श्रेष्ठले तत्कालनी एमालेको संगठीत सदस्यता २०५६ सालमा प्राप्त गर्नुभयो । त्यसपछि पार्टीका विभिन्न विभागमा जिम्मेवारी बहन गर्नुभएको यहाँ करिब एक दशक शैक्षिक परामर्शको व्यवसायमा लाग्नुभयो । पछिल्लो १० वर्षयता नुवाकोटका हरेक खालका सामाजिक गतिबिधिमा सक्रिय श्रेष्ठसँग हामीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि नुवाकोटको विकास र सम्भावनाको सम्बन्धमा केन्द्रीत भएर केही प्रश्न गरेका छाैँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको अंशः

नुवाकोटको सम्भावनालाई कसरी हेर्नू भएकोछ ?

-ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकिय हिसाबले नुवाकोट अत्यन्तै सम्भावना बोकेको जिल्ला हो । अहिलेको परिवर्तित परिस्थितिमा नुवाकोटको सम्भावनालाई अझै फरक ढङ्गबाट विश्लेषण गर्नु पर्छ भन्ने लाग्दछ। गल्छी देखि बेत्रावती सम्मको त्रिशूली नदीको करिडोर, आप्रह, कविलास, छहरे देखि बट्टार पिपलटार सम्मको समथर भुगोलले नुवाकोटको अपार सम्भावनालाई प्रष्ट्याउदछ। कृषि उद्योग तथा अपार जलसम्पदाको हिसाबले यसको महत्त्व र सम्भावनालाई बढाएको छ। अहिले राजधानी शहर काठमाडौं अव्यवस्थित रहेको र पुनर्निर्माण गरि व्यवस्थित गराउनु भन्दा नयाँ शहर निर्माण गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा सिमा जोडिएको जिल्लाको हिसाबले पनि बेग्लै सम्भावनायुक्त देखिन्छ। अझै दुई छिमेकी विशाल राष्ट्रहरु चीन र भारत बिचको सबै भन्दा छोटो दुरीको सडकमार्गको कनेक्टिभिटीको हिसाबले त झन यस्को महत्त्व र सम्भावना चुलिएको छ।

नुवाकोटमा विकास र राजनीतिको तालमेल कस्तो देखिन्छ ?

-विकास र राजनिती विच अन्यौन्याश्रित सम्बन्ध हुनुपर्छ । राजनीतिको मुख्य उदेश्य सामाजिक परिवर्तन र सामाजिक परिवर्तनका निम्ति बिकास निर्माण जरुरी छ। राजनीतिक कुरा संग राजनीतिक कर्मीहरु जोडिन्छ। विकास निर्माण, सामाजिक रुपान्तरण र आमूल परिवर्तन राज्यले निर्माण गर्ने नीति नियम अनुसार हुने हो। राज्य द्वारा निर्मित नीति नियमहरु कार्यान्वयन गर्ने, गराउने कार्यमा राजनीतिक व्यक्तित्वहरुको ठुलो भूमिका रहन्छ । राजनीतिक नेताहरुको ईच्छा शक्तिमा के कसरी बिकास गर्ने, कुन मोडेलमा सामाजिक रुपान्तरणलाई अगाडि बढाउने अझै भन्दा अबको कति समयमा कस्तो समाजको निर्माण गर्ने भन्ने दुरदृष्टी भिजन नेताहरुमा हुनुपर्छ र त्यसै अनुरुप बिकास निर्माण, सडक पुर्वाधार, शिक्षा स्वास्थ्य र उद्योग व्यवसायको कार्यक्रम अगाडि बढाउनु आवश्यक हुन्छ। तर नुवाकोट जिल्लाको हकमा त्यस्तो केही हुन नसक्दाको परिणाम आज नुवाकोटका आम जनताले दुस्ख भोग्दैछन्।

नुवाकोटको विकासको मोडेल कस्तो हुनुपर्छ ?

-अगाडि सम्भावनाको कुरा गरियो, त्यसै संग जोडेर यहाँ बिकासको मोडेलको कुरा गर्न सकिन्छ। पहिलो कुरो नुवाकोट जिल्ला अपार कृषि उब्जनी युक्त भुगोल भएको जिल्ला हो। उत्तरी हिमालयबाट शुरुभएको चिसोपानीको बिशाल प्रवाह त्रिशूली नदीमा देखिन्छ। तादी लगायत अन्य जलश्रोतलाई अधिक्तम उपयोग गर्न सकिन्छ। ऐतिहासिक धरोहर, धार्मिक, साँस्कृतिक पर्व उत्सवहरु तथा पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न सहि ढङ्गबाट उद्योगको रुपमा बिकास गर्नपर्छ। निकासी प्रवर्द्धन र आयातलाई प्रतिस्थापन गर्न जिल्ला भित्रै धेरै भन्दा धेरै श्रोत साधनहरु परिचालन गरि उत्पादनमूलक उद्योग धन्दाहरुको स्थापना गर्नुपर्छ। त्यसको लागि पारदर्शी र सहज हुने गरि नीति नियम बनाउनुपर्छ। जिल्ला भित्रका हरेक नागरिकले अपनत्व महशुस गर्न सक्ने गरि व्यवस्थित सहरीकरणको शुरुआत हुनु आबश्यक छ।

आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न व्यापक बजारीकरण गर्न सकिन्छ। अन्तर्राष्ट्रिय लगानी आकर्षण गर्ने नीति अवलम्बन गर्न सकिन्छ। अहिलेको परिवर्तित अबस्थामा छिमेकी राष्ट्र चिनको दक्षिण एसियाली राष्ट्रहरु हुदै बिश्वव्यापी रुपमा आफ्नो सडक संजाल बिस्तार गर्ने नीति अनुरुप उच्च प्राथमिकताका साथ संचालित बि आर आई अथवा बेल्ट एण्ड रोड ईनिसिएटिभको अवधारणा अनुरुपको जुन कार्य अगाडि बढाउदै छ त्यसबाट अधिक्तम फाइदा उठाउन नुवाकोटका सबै जनप्रतिनिधिहरु तथा राष्ट्रिय राजनितीमा प्रभाव राख्ने सबै राजनीतिक दलका नेताहरूले चासो राख्नुपर्ने देख्दछु। कस्ले, कहिले, कस्का पालामा भन्दै जस अपजसको कुरा छाडेर समग्र नुवाकोटको बिकासका लागि लागिपर्न सके अहिले जतिको उपयुक्त समय पछि नआउन सक्छ।

नुवाकोटका धेरै स्थानहरु शहर उन्मुख देखिन्छ तर व्यवस्थित शहरीकरण भएको देखिदैन नि ?

-हो, व्यवस्थित शहरीकरण भएको देखिदैन, यो अत्यन्तै चिन्ताजनक कुरा हो। व्यवस्थित शहरीकरण भन्ने कुरा नीति नियम तथा अनुगमनबाट मात्रै सम्भव हुने कुरा हो। यसका लागि आम नागरिकहरुलाई उपयुक्त प्रोत्साहन गर्नु पर्छ। विकसित मुलुकहरुमा पहिला आवश्यक पुर्वाधार जस्तै सडक, बिजुली पानी, ढल निकास, खेलमैदानको विकास गरेरमात्र बस्ती बसाउने कार्य हुन्छ। तर हाम्रोमा त्यसको उल्टो हुने भएकोले शहरीकरण अव्यवस्थित हुन जान्छ । कुनै बैज्ञानिक अध्ययन नगरी विना योजना स्वतस्फूर्त प्राकृतिक रुपले शहर बिकास हुदै गएको छ।

जातीय साँस्कृतिक रुपमा संरक्षण गर्नुपर्ने बस्तीहरु, धार्मिक मठ मन्दिर, कला साहित्यको पहिचान गरि नयाँ ढङ्गबाट विकास गर्नु पर्छ। कृषि जोन, उद्योग प्रतिष्ठान, खेलमैदान, बालउद्यान पार्क, हस्पिटल, शैक्षिक संस्थाहरु उपयुक्त स्थानमा निर्माण गर्नुपर्छ। ठूला नदीहरुको जलशक्तिको उपयुक्त उपयोग गरि जलमार्गको विकास गर्न सकिन्छ। बैज्ञानिक र योजनाबद्ध शहरीकरणको लागि अन्तर्राष्ट्रिय रुपमा विकसित शहरहरु संग मितेरी सम्बन्ध कायम गरेर समेत अगाडि बढ्न सकिन्छ। सुन्नमा आए अनुसार चिन सरकारले हाम्रो बिदुर नगर पालिकाको समग्र विकासको लागि डिटेल प्रोजेक्ट रिपोर्ट समेत तयार गरि हस्तान्तरण गरेकोछ। तर त्यसको कार्यान्वयन गराउने पहल अझै कहिँ कतैबाट हुन सकेको छै‌न।

अहिले विकासका लागि गाउँ गाउँमा करोडौं रकम पुगेको छ तर परिणाम देखिएको छैन नि ?

-हो, विकासका विभिन्न योजनाहरुका लागि भनेर करोडौं रकम विनियोजन भएको छ। स्थानीय सरकार आफैले पनि बिकास योजनाका लागि रकम खर्च गर्दै आईरहेकोछ। तर परिणाम जति देखिनु पर्ने हो, त्यो देखिदैन। प्राबिधिक अध्ययन बिना हचुवाको भरमा शुरु गरिएको विकास निर्माणमा खर्च गरिएको रकम बालुवामा पानी राखे जस्तै भएकोछ। यद्यपी पहिले जस्तो केन्द्र सरकारको आयोजनामा भर परेर बस्नुपर्ने अबस्था छैन। आफ्नो गाउँ आफै बनाउँ जस्ता लोकप्रिय कार्यक्रमले गाउँ गाउँमा विकासको शुरुआत भएको छ। हरेक आयोजनामा आर्थिक पारदर्शिता कायम गरि नागरिक स्तरबाटै अपनत्व लिएर योजना कार्यान्वयन गर्न सके मात्रै सकारात्मक परिणाम देखिन्छ। बिकास निर्माण आयोजना भनेको सडक पुल भवन निर्माणलाई मात्रै ठान्नु हुदैन। समग्रमा पुर्वाधार निर्माण महत्त्वपूर्ण रहन्छ। पूर्वाधार निर्माणमा स्थानिय जनता, नागरिक समाज, सामाजिक संघसंस्था तथा स्थानीय सरकारको सकारात्मक भुमिका अपरिहार्य रहन्छ।

शक्तिशाली राष्ट्र चीनका शक्तिशाली राष्ट्रपति सि जिङ पिङको भ्रमण पछिको परिस्थितिलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

-विश्व मानचित्रमा बिशाल भुगोल ओगटेको दुई मुलुक भारत र चीनको विचमा रहेको हाम्रो देश क्षेत्रफलका हिसाबले सानो भएपनि भौगोलिक अबस्थिति र रणनीतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेकोछ। हालैमात्र चिनियाँ राष्ट्रपती सि जिङ पिङको भ्रमणले समृद्ध नेपाल निर्माणको परिकल्पनालाई साकार पार्ने आधारहरु निर्माणका लागि चीन सरकारको सहयोग र रणनीतिक साझेदारको रुपमा लिनु ठुलो उपलब्धि हो। बि आर आई निति अन्तरगत रोड कनेक्टिभिटी विकास गरि केरुङ रसुवागढी सम्मको सुविधा युक्त सडक मार्गको बिकास, टोखा छहरे सुरुङ मार्ग, बेत्रावती स्याफ्रुबेसी सुरुङ मार्ग निर्माण गर्ने योजनाले नुवाकोटको विकासको नयाँ रुप उजागर गरेको छ।

अव्यवस्थित शहरीकरणले साघुरो बन्दै गएको राजधानी शहर काठमाडौलाई बिस्तार गरि नुवाकोट तर्फ नयाँ व्यवस्थित आधुनिक शहर निर्माण गर्नुपर्ने बहस शुरुआत भएकोछ। समग्रमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अत्यन्तै उपलब्धि मूलक रहेको र बिशेष गरि यो भ्रमणले नुवाकोट जिल्लाको सम्भावना बढेको छ। सकारात्मक तवरले सम्बन्धित निकायहरु संग आबश्यक समन्वय गरि अगाडि बढ्न सके मात्रै समग्र नुवाकोट र आम नागरिकको हित हुनेछ।

श्रेष्ठसँग गरिएको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार २०:२८