१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

क्यान कांग्रेसको कब्जामा गएपछि सुधारको लागि भन्दै क्रिकेटका कप्तान पारसले दिए राजीनामा


२८ असोज, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट मंगलबार राजीनामा दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै  नेपाली कांग्रेसका नेता चतुरबहादुर चन्दको अध्यक्षमा रहेको क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो ।

आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिनुभएको हो । “मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।”

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुनुहुन्छ । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्नुभएको पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी समाल्नुभएको हो । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उहाँले कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो । रासस

यो पनि पढ्नुहोस् 

-क्रिकेट संघ क्यानमा कांग्रेस नेता चतुरबहादुर चन्दको प्यानल नै विजयी

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार १४:१३