१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

नेपाल ओलम्पिक कमिटिको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित (नतिजासहित)


२८ भदौ, काठमाडौँ । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष जीवनराम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । । शनिबार भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालवीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए ।

यस्तै, उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भएका छन् । २७ जना मतदाता रहेकोमा समिमले १२ मत मात्र प्राप्त गरे । ५ जना उपाध्यक्ष रहने ओलम्पिक कमिटिमा ८ जनाको उम्मेदवारी परेको थियो । समिमसँगै राजीव्न श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित भए ।

यसैगरी, महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएक हुन्नि । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका हुन् । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा उठेका थिए ।

नेपाल ओलम्पिक कमिटीको सचिवमा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ विजयी भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट १ मतले पराजित भएका छन् । ३ जना सचिव रहेको ओलम्पिकमा ४ जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित भएका हुन् । यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत प्राप्त गदा तुलसी थापाले २१ मत ल्याएर विजयी भए ।

७ जना सदस्यका लागि भएको मतदानमा प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले रमेशप्रसाद शिवाकोटी, राम अवाले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भए । २७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शम्सेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरे ।

यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी हुनुभयो । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गरे ।

यसैगरी एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका २७ प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गरेका थिए । रोचक पक्ष के रह्यो भने यसपालिको चुनावमा २७ मतदातामध्ये २६ जना उम्मेदवार बनेका थिए । दुई कार्यकाल अध्यक्ष भइसकेका जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबै उम्मेदवार बनेका थिए । अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार १३:२८