१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

१ लाख ६० हजार घुससहित वडा सदस्यका छोरा रंगेहात पक्राउ 


२८ साउन, जनकपुरधाम । वडा सदस्यका छोरा १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उनि पक्राउ परेका हुन् ।

मुकेशलाई उनकै बाबु वडा सदस्य कारीले वडाध्यक्ष रफिक आलमसँग मिलेर घुस लिन पठाएका थिए । अख्तियारका अनुसार सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए ।

त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन् । पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ। छोरा घुससहित पक्राउ परेपछि वडा सदस्य कारी र वडाध्यक्ष रफिक सम्पर्कविहीन बनेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १४:४७