१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

शिल्पा-छविको विवाहमा साक्षी बनेका विकास र सम्झना रौनियारविरूद्ध हेमाले दिइन् उजुरी


९ साउन, काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले मानेका दाई-भाउजुविरूद्ध पनि मुद्दा परेको छ । बहुविवाह गराएको आरोपमा निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले विकास रौनियार र सम्झना रौनियारविरूद्ध उजुरी दिएकी हुन् ।

छवीकी जेठी श्रीमती हेमा ओझाले छवी र शिल्पालाई विपक्षी बनाई उनीहरु विरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतले छवी र शिल्पालाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ ।

आदेश दिएको २४ घण्टा नपुग्दै हेमाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले फिल्म निर्देशक तथा संचारकर्मी सम्झना उप्रेती रौनियार, उनका पति विकास रौनियार तथा काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश कुमार डंगोलविरुद्ध अक्तियारमा उजुरी दिएको हो । उनीहरुमाथी बहुविवाह गराएको आरोप लगाइएको छ ।

एउटा विवाह कायम रहँदा रहँदैको अवस्थामा अर्को विवाह गर्नु गैरकानुनी हो नै त्यसमा मतियार (साक्षी) बस्नु पनि गैरकानुनी ठहरिन्छ । छवी र शिल्पाको विवाहका साक्षी बसेका सम्झना र विकाससँगै बहुविवाह दर्ता गरेका वडा अध्यक्ष सहित उक्त विवाह दर्ता प्रकृयामा सामेल भएका सम्पूर्ण कर्मचारी विरुद्ध अक्तियारमा उजुरी परेको हो ।

उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नुपर्ने हुन्छ ।

बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ । मतियार (साक्षी) हरुको हकमामाथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था छ । आरोप प्रमाणित भएमा उनीहरुलाई आधा सजाय हुनेछ ।

चौथी श्रीमतीका रुपमा २०७३ सालमा छविसँग विवाह गरेकी शिल्पाले डिभोर्सको लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले डिभोर्स फाइल दर्ता गराएको केही समयमै जेठी श्रीमती हेमाले छवि र शिल्पाविरूद्ध बहुविवाहको मुद्दा हालेकी थिईन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार १९:१०