१८ बैशाख २०८१, मंगलवार | Wed May 1 2024

संवैधानिक व्यवस्था कमजोर पार्दै सरकारः नेता सिटौला


९ असार, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । ‘जिपी कोइराला अध्ययन केन्द्र’ले स्व गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘देशको राजनीतिक परिस्थिती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले सरकारले संवैधानिक व्यवस्थालाई बलियो बनाउनुभन्दा पनि कमजोर पार्दै गएको आरोप लगाउनुभयो

। “लामो समयपछि उपलब्ध भएको लोकतान्त्रिक व्यवस्था दुर्घटनाग्रस्त नहोस्,” उहाँले भन्नुभयो । लामो समयदेखिको जनताको अधिकारलाई संविधानले प्रदान गरेकाले यसलाई टिकाइराख्नु आजको प्रमुख दायित्व भएको नेता सिटौलाको भनाइ थियो । स्वर्गीय कोइरालाको योगदानका कारण मुलुक अहिलेको अवस्थामा आएको र गिरिजाबाबुको सम्झनाले लोकतन्त्रलाई झन् सुढृढ पार्र्न मद्दत पुग्ने नेता सिटौलाले बताउनुभयो । “सरकार गलत बाटोमा र प्रतिपक्ष कमजोर भएकाले देशले गति लिन नसकेको हो”, उहाँले भन्नुभयो । काङ्ग्रेसले सङ्गठनबिना जागरण अभियान गरेको र सङ्गठनबिनाको जागरण अभियानले पार्टी बलियो हुन नसक्ने उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले संविधानको आधारमा ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्दै गएको बताउनुभयो । नेता थापाले काङ्ग्रेसलाई मजबुद र जीवन्त बनाउन समयमै पार्टीको १४औँ महाधिवेशन गराउन आग्रह गर्नुभयो । “पार्टीको भविश्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन”, थापाले भन्नुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले लोकतन्त्रलाई जोगाउन फेरी आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । पार्टीभित्र योगदान गरेका व्यक्तिको अवमूल्याङ्न गर्दा पार्टीले हार व्यहोरेको उहाँको भनाइ थियो । केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतन्त्रलाई खोस्ने गरी सरकारले सूचना प्रविधि विधेयक, प्रेस काउन्सिल विधेयक र मानवअधिकार विधेयक ल्याएको आरोप लगाउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, नेता देवराज चालिसे, उत्तम चापागाईं, कुन्दन काफ्लेलगायतले पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभयो । स्थानीय तहको संरचनाबिनाको जागरण अभियानले पार्टी बलियो हुन नसक्ने उहाँहरुको भनाइ थियो । अध्ययन केन्द्रले गिरिजाबाबुको बारेमा खोज तथा अनुसन्धान गर्दै आएको केन्द्रका महासचिव निरञ्जन थापाले बताउनुभयो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार २२:२९