१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

देउवाले हलीलाई झैँ हप्काएका प्रकाशशरणले जगदिश्वरनरसिंह केसीको माइक किन खोसे ?


३ पुस, काठमाडौँ । कांग्रेस महासमिति बैठकमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी र सहमहामन्त्री डा प्रकाशशरण महतबिच हात हालाहाल भएकाे छ । कांग्रेस महासमिति बैठकमा विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हात हालाहालकाे अवस्था सिर्जना भएको हो ।

मंगलबारको बैठकमा केसी बाेल्दै गर्दा एकाएक डा महत आएर केसीकाे हातबाट माइक खोस्न थालेपछि धकेलाधकेल हुनेक्रममा माइक समेत फुटेको छ । केसीले विधान नआएसम्म बैठक अघि नबढ्ने भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको दाबी गरिरहेको अवस्थामा महतले अाक्रमणको शैलीमा माइक थुतेको थिए । विवादले गर्दा विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ ।

सहमहामन्त्री महतले अाक्रामक शैलीमा केसीको माइक थुतेपछि महासमिति सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवाले ‘हलीलार्इ झैँ हप्काएको रिस पोख्यो’ भन्दै कानेखुसी गरिरहेका थिए । दूर्व्यवहार हुनेगरी माइक खोसेपछि अन्य महासमिति सदस्यहरू समेत रिसाएर बैठक कक्षामा धकेलाधकेल भएको थियो ।

नुवाकोट जिल्लाको राजनीतिमा स्थानीय तहदेखिनै दुबै नेताको समर्थकको बीचमा प्रतिस्पर्धा हुनुलार्इ नाैलाे मानिन् । दुबैले अाफ्नो अाफ्नो समूह बनाएर पार्टीमा प्रभाव जमाउने कोशिश गर्छन यद्यपी महतले केसीलार्इ नुवाकोटमा कमजोर बनाउन सकेका छैनन् । कार्यकर्ता र जनतासँग नजिक रहेर जनताकै काम गर्ने भएकाले स्थानीय कार्यकर्ताको माझमा केसी लोकप्रिय रहेका छन । महत केन्द्रमा नेताको चाकरी गर्नमा अब्बल भएकाले शेरबहादुर देउवाको प्रिय मानिन्छन ।

महासमिति र पार्टीको विधानमा सुझाव लिन जगदिश्ववरनरसिंह केसीको पहलमा ककनीमा गरेको जिल्ला सभापतिको भेलामा सभापति देउवालार्इ जान रोकेका महत केसीको पछिल्लो गतिबिधिबाट झनै असन्तुष्ट बनेको कांग्रेसकै केही नेता बताउँछन ।

पूर्व निर्धारित कार्यकेसतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो । तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन । जसले गर्दा महासमिति सदस्यहरु आक्रोशित बनेका छन् । काँग्रेस महासमिति बैठक शनिबारदेखि राजधानीमा जारी छ ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १४:४३