१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

गाउँपालिका अध्यक्षले नै परीक्षामा खेताला प्रयोग गरे, माओवादी सरकार भएकाले अभियुक्तलाई उन्मुक्ति


३० वैशाख, सिन्धुली। सिन्धुलीका एक गाउँपालिका अध्यक्षले कक्षा १२ को परीक्षा उत्तीर्ण हुने प्रयोजनका लागि खेताला परीक्षार्थीको प्रयोग गरेको पाइएको छ । जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले कक्षा १२ को जारी परीक्षा उत्तीर्ण हुन लागि खेताला परीक्षार्थीको प्रयोग गरेका हुन ।

गाउँपालिका अध्यक्ष मोक्तान कक्षा १२ को परीक्षाका लागि नियमित तर्फका विद्यार्थी हुन । उनले कपिलाकोट मध्यामिक विद्यालय केन्द्रबाट परीक्षा दिइरहेका थिए । अन्य दिन उनका लागि विशेष व्यवस्था गरेर छुट्टै कोठामा राखेर शिक्षकहरूले सिकाउने गरेकोमा शुक्रबार (वैशाख २९ गते सामाजिक विषय)को परीक्षामा अनुगमन टोली आउने भएकाले उनलाई पनि अरू परीक्षार्थीसँगै राखिएको थियो । उनलाई सँगै राख्ने भएपछि  केन्द्राध्यक्ष बिष्णुमायाँ योन्जन र सहायक केन्द्राध्यक्ष सुक्र बहादुर माझीले उनको अर्को उत्तरपुस्तिक तयार गरेका थिए । जसको कारण एकै सिम्बोलन नम्बर दुई वटा उत्तरपुस्किता भेटिएको थियो ।

सुरक्षाका निम्ति खटिएका नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकले सहायक केन्द्राध्यक्ष सुक्रबहादुर माझीले बाहिरबाट लेखर ल्याएएको उत्तरपुस्तिका उनको हातबाट खोसे । त्यसपछि गाउँपालिका अध्यक्ष मोक्तानका लागि परीक्षा उत्तीर्ण गराउन गरिएको सेटिङ उदाङ्गो भयो ।

परीक्षाको अनुगमनका लागि गएका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसहितको टोलीले अध्यक्ष मोक्तानको दुबै उत्तरपुस्तिका रद्द गर्न निर्देशन दियो । तर खेताला परीक्षार्थी, गाउँपालिका अध्यक्ष, परीक्षा केन्द्रका अध्यक्ष र सहयका अध्यक्ष कोही पनि पक्राउ परेनन् । नत उनीहरूको बारेमा विस्तृत अध्ययन नै भयो । मोक्तानको ठाउँमा अर्को परीक्षार्थी रहेको भए प्रहरीले हिजै परीक्षार्थी र केन्द्राअध्यक्षसहितलाई पक्राउ गरेर हिरासतमा लिइसकेको हुन्थ्यो तर राजनीतिक पहुँच भएका र सत्तारूढ पार्टीका नेता भएका कारण अहिलेसम्म उनीमाथि कारबाही हुने कुनै संकेत समेत देखिएको छैन । बरू उनलाई जोगाउनका निम्ति अरू धेरै काम हुन थालेका छन ।

घटनापछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले परीक्षा केन्द्रमा कपी बढी भेटिएकाले कारबाहीका लागि माथिल्लो निकायमा लेखि पठाएको जानकारी दिइन । उनले अन्य विषय शिक्षा समन्वय इकाइ प्रमुखले गर्ने भएकाले उतै बुझ्न अनुरोध गरिन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजेन्द्र सिलवालले आफूलाई खास जानकारी नभएको र शिक्षाको विषय भएकाले उतै बुझ्न अनुरोध गरे । जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख निर्मल घिमिरेले कपी पोको पर्दा बढी भेट्टिएकाले परीक्षा रद्द गरिएको जानकारी दिए । उनले एकै सिम्बोल नम्बरका दुई वटा कपी रद्द गरिएको र केन्द्राध्यक्षलालाई अगामी दिनमा यस्तो काम नगर्न चेतावनी दिइएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष मोक्तानलाई परीक्षामा उत्तीर्ण गराउनका लागि सम्पूर्ण पक्रियाको योजनाकारका रूपमा रहेकी केन्द्राध्यक्ष विष्णुमाया योञ्जनले भने गाउँपालिका अध्यक्षको बचाउ गरिन । उनले केपी पोको पार्ने क्रममा बढी भेटिएको र उक्त कपी कस्तो भनेर थाहा नभएको यद्यपी गाउँपालिका अध्यक्ष पनि परीक्षार्थी रहेको बताइन ।

कानुनको पालना भए गाउँपालिका अध्यक्ष मोक्तानलाई ६ महिना कैद १ लाख जरिवाना हुने भएको छ । शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसुरमा फाैजदारी अभियाेग अन्तर्गत सरकारवादी मुद्दा चल्छ । उक्त मुद्दाको सुनवाइ प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था रहेको छ । भने न्यूनतम ६ महिना कैद र १ लाख जरिवानासम्म हुने कानुनी व्यवस्था रहेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा अध्ययक्षमा विजयी भएका मोक्तानको माथिल्लो स्तरका नेताहरूसँग सीधा र राम्रो सम्पर्क र सम्बन्ध भएका कारण उनीमाथि कारबाही हुनेमा शंका देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार ०९:०५