१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

बाफियाको प्रावधान विपरित सीइओ नियुक्त गरेको भन्दै प्रभु बैंकको सञ्चालकलाई अदालतले बोलायो


१७ माघ, काठमाडाैँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) को प्रावधान विपरीत  प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गरिएको भन्दै परेको रिटमा उच्च अदालत पाटनले बैंकका सञ्चालकहरूलाई बाेलाएको छ । अधिवक्ता अनिता थापा केसीले दायर गरेको रिटमा अदालतमा छलफलका लागि दुबै समूहलाई बोलाएको हो ।

अधिवक्ता थापाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन । न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिँदै अर्को पेसी माघ २० गतेका लागि तोकेको छ ।

प्रभु बैंकका सीइओ अशोक शेरचनले यसअघि बैंकमा दुई कार्यकालसम्म सीइओका रुपमा काम गरिसकेका छन् । तेस्रो कार्यकाल पनि शेरचनलाई दिइनु बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को प्रावधान विपरीत रहेको दाबी रिट निवेदकको रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार ०९:१७