६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

उमेशजीलाई मदन भण्डारी हत्याबारे प्रमाणसहित बोल्न सुझाव दिएको सत्य होः जेपी गुप्ता 


१५ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका एक पुराना नेता उमेश गिरीले गत साता एक टेलिभिजन अन्तरवार्तामा आफूले मदन भण्डारीको हत्या (दासढुंगा हत्याकाण्ड)बारे तत्कालीन समयमै सार्वजनिक गर्न खोज्दा तत्कालीन कांग्रेस नेता एवं पूर्वमन्त्री जयप्रकाश (जेपी) गुप्ताले अहिले यो उपयुक्त समय होइन भनेर रोकेको बताएका थिए ।

गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र  गिरीले चर्चित हत्याकाण्डका विषयमा सनसनीपूर्ण अभिव्यक्ति दिएपछि हामीले जेपी गुप्तासँग टेलिफोनमा सम्पर्क गरेर चासो राखेका थियाैँ । उक्त चासोबारे सम्बोधन गर्दै गुप्ताले उमेश गिरीलाई महत्वपूर्ण विषयमा हल्का टिप्पणी गर्न हुँदैन भनेर मदनको हत्याबारे प्रमाण लिएरमात्र बोल्न सुझाव दिएको जानकारी दिए ।

तपाईले मदन भण्डारी हत्याकाण्डको बारेमा उमेश गिरीले तत्कालीन समयमा बोल्न खोज्दा नबोल्न सुझाव दिनुभएको हो भन्ने दैनिकीको प्रश्नमा गुप्ताले भने, ‘हो म र उमेशजी निकै निकटका साथी हाैँ । हामी त्यतिबेलादेखि अहिलेसम्म पनि साथी छाैँ । अहिले पनि एकअर्कामा कुराकानी गरिरहेका हुन्छाैँ । उहाँ कांग्रेसभित्रको आक्रामक नेतामा गनिननु हुन्थ्यो । समर्थन गर्नुपरे पनि चर्को रूपमा गर्ने र बिरोध गर्दा पनि चर्को रूपमा बिरोध गर्ने । मैले त्यतिखेरको अवस्थामा गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट भएर काम गरेका कारण उहाँँलाई तथ्य र प्रमाणबिना महत्वपूर्ण विषयमा हल्का टिप्पणी गर्नन हुँदैन भनेको थिए । उहाँले हामीहरूसँग चाहिँ उहाँको आफ्नो धारणाहरू राख्नुभएको थियो ।’

गुप्ताले भने, ‘गिरी म भन्दा बढी गिरिजाप्रसाद कोइरालासँग नजिक रहेका कारण उनलाई त्यहाँभित्रका धेरै कुरा जानकारी पक्कै छ । अब के भन्ने र के नभन्ने तथा कसरी भन्ने भन्ने चाहिँ सम्बन्धित व्यक्तिको कुरा । उमेशको लैलैमा लागेर मैले दुर्गा सुवेदीमाथि हात हालेँ पछि उनले श्रीमति मार्फत मलाई सर्वोच्च अदालतबाट भ्रष्टाचारी बनाए । म पीडित भएँ । यहाँ धेरै कुरा छन ।’

गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या भएको गिरीको खुलासा (भिडियो)

गिरीले उक्त हत्याको योजना विराटनगरको कोइराला निवासमा बनेको बताएका थिए । उनले उक्त हत्यामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं तत्कालीन एमाले नेता माधवकुमार नेपाल, समाजवादीकै नेता तत्कालीन एमाले नेता झलनाथ खनाल र अहिले नयाँ अभियानमा लागेका तत्कालीन एमाले नेता बामदेव गौतमले सहयोग गरेको जानकारी दिएका थिए । गिरीले माधव नेपाल लगायतले मदन भण्डारी हत्याको प्रमाण नष्ट गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराइहरूले भण्डारीलइ खोलामा हाल्ने चालक अमर लामाको हत्या गरेको पनि बताएका थिए ।

विराटनगरको कोइराला निवासमा मदन भण्डारीको हत्या योजना बनाइएको र त्यसमा गिरिजाप्रसादका भाउजु नोना कोइरालाको समेत संलग्नता रहेको उनले बताएका छन । गिरीले हत्याको बारेमा आफूले जानकारी र क्लुहरू पाएर पनि आफ्नो पनि हत्या हुने डरले यसअघि यस विषय बाहिर ल्याउन नसकेको बताए ।

उनले आफ्नो जीवनको उत्तरार्द्धमा सत्य बताउन चाहेको भन्दै उक्त विषय र घटनाको फेहरिस्त नै प्रस्तुत गरेका छन । मदन भण्डारी बाँचिरहँदा नेपालमा कांग्रेस सिद्धिने भएले गिरिजाले हत्या गराएको उनको दाबी छ । गिरी कोइारालका अत्यन्तै निकटमा व्यक्ति मानिन्छन भने कोइराला परिवारकै नातेदार सदस्य हुन ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ११:०१