१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको छः प्रधानमन्त्री ओली


६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्प पछि क्षतिग्रस्त बनेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) ले निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो ।

विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘यो भवन नेपालको इतिहाससँग जोडिएको छ । बिभिन्न प्रणालीहरुसँग जोडिएको छ । एउटा युग र अर्को युग, एउटा शताब्दी र अर्को शताब्दीसँग जोडिएको छ । यसले पुलको काम गरेको छ शताब्दीहरुकोबीचमा । शासनहरुकोबीचमा । प्रणालीहरुकोबीचमा पुलको काम गरेको छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताउनुभयो । उहाँले पाटन माध्यामिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताउनुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १३:५५