१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

विभिन्न कम्पनीका सुटकेश चोरी गर्ने ५ जना पक्राउ


२६ चैत, ललितपुर । ललितपुर महानगरपालिका-२८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-८ घर भएका ३२ वर्षीय यम कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका-३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएका २७ वर्षीय प्रदिप गौतम, काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सुनसरी माता नगरपालिका-६ घर भएका २६ वर्षीय महेश अधिकारी, काठमाडौं महानगरपालिका-३१ शान्तीनगर बस्ने धनकुटा महालक्ष्मी नगरपालिका-१ घर भएका २३ वर्षीय दिपक खड्का र सोही ठाउँ बस्ने २५ वर्षीय नबिन अधिकारी रहेका छन् ।

प्रतिकात्मक तस्बिर ।

उक्त ईन्टरप्राईजेजबाट चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोमबार प्रदिपको डेरा कोठाबाट १ सय १२ थान विभिन्न कम्पनीका सुटकेश भएका कार्टुनहरु फेला पारी प्रदिप, यमकुमार र महेशलाई घटनामा प्रयोग भएको बा.२१ च ७३४४ नम्बरको गाडी सहित पक्राउ गरेको थियो ।

साथै महेशको कोठबाट विभिन्न कम्पनीका सुटकेश ६ कार्टुन, सुटकेश २२ थान, ब्यागहरु ३६ थान, १ थान सुन जस्तो देखिने पहेंलो धातुले बनेको मंगलसुत्र, १ जोर जुली मुन्द्रा, १ थान मुन्द्रा, १ थान ल्यापटप र नगद १ लाख ५ हजार रुपैयाँ फेला पारी बरामद गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दिपक र नबिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धना भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार १३:४२