१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

गोरखाकाे बालोद्यानमा दृश्यावलोकनस्तम्भ निर्माण


७ मंसिर, गोरखा । जिल्लामा पहिलो पटक सदरमुकाम नजीकै दृश्यावलोकनस्तम्भ निर्माण भएको छ । गोरखा नगरपालिका–५ स्थित बालोद्यानबाट देखिने सुन्दर दृष्यावलोकनका लागि करीब रु २५ लाखको लागतमा दृश्यावलोकनस्तम्भ निर्माण भएको हो । गोरखा नगरपालिकाले बालोद्यान हाताभित्र दुईतले दृश्यावलोकनस्तम्भ उपभोक्ता समितिमार्फत निर्माण गरेको नगरपालिकाका इञ्जिनीयर प्रकाश ढकालले जानकारी दिनुभयो ।

फाइल फाेटाे

निर्माण सम्पन्न भएको भ्यु टावरबाट उत्तरतर्फ हिमालचुली, बौद्ध र गणेश हिमाल दृष्यावलोकन गर्न पाइन्छ । नगरपालिकाले पर्यटक पूर्वाधार दृश्यावलोकनस्तम्भका उपभोक्ता समितिमार्फत टावर निर्माणको काम सम्पन्न गरेको उहाँको भनाइ छ । “नगरपालिकाले पाँच तला निर्माण गर्ने गरी योजना बनाएर काम शुरु गरेका हाैँ,” उहाँले भन्नुभयो,” बाँकी तीन तलाका लागि भने बजेट निश्चित भइसकेको छैन, तत्कालका लागि दुई तला निर्माण गरी त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले दृष्यावलोकन गर्न पाउने गरी रङरोगन गरी काम सकेका छौँ ।’

“चिल्ड्रेन पार्कमा जिल्लाभित्र र बाहिरबाट आउने पर्यटकले गोरखा बजार तथा वरपरका हिमालको सजिलै अवलोकन गर्न सक्नेछन्”, उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो, “दृश्यावलोकनस्तम्भ निर्माणसँगै सुन्दर र मनोरम दृष्य हेर्नका लागि एक पटक अवश्य जो कोही पुग्नेपर्ने भएको छ ।” दृश्यावलोकनस्तम्भ निर्माणका क्रममा उपभोक्ता समितिमार्फत रु दुई लाख ५० हजार बराबरको श्रमदान गरिएको उहाँले बताउनुभयो । स्थानीयवासीको सहभागिता निर्माण भएको गोरखामा यो नै पहिलो दृष्यावलोकनस्तम्भ हो ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १३:०५