१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

साधना लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै


२९ असार, काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँड हुने भएको छ । आफ्नै कार्यालमा साँझ ५ बजे आइपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आइएई क्यपिटलले जनाएकाे छ । साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् ।

मागको तुलनामा १७.०२ गुणा बढी आवेदन परेकाले गोलाप्रथा प्रणालीबाट आइपीओ बाँडफाँट हुनेछ । यस कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला गरिएको हो ।

यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार ११:२५