सार्वजनिक बिदा सम्बन्धमा बेलकोटगढी नगरपालिकाको प्रष्टीकरण ‘…लाई भन्दा देख्नेलाई लाज’
-प्रतिमा ढुंगाना
३ फागुन, नुवाकोट । बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लामा रहेको बेलकोटगढी नगरपालिकाले कमजोरी सच्याउनेमा भन्दा थप भ्रम छर्ने कोशिश गरेको छ । नगरपालिकाले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी सार्वजनिक विदाको सन्दर्भमा स्पष्ट पार्न खोजे पनि कमजोरी स्वीकार गरेर गल्ती सच्याउने तत्परता देखाएको छैन ।
२०७३ साल फागुन २७ गते प्रकाशित राजपत्रको
भाग ४ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सूचना
२०७३ साल पुस २२ गते गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले पेस गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३ सला माघ २२ गतेको निर्णय अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय वमोजिमको चारसय ८१ गाउँपालिका, दुइसय ४६ नगरपालिका र तेह्र उपमहानगरपालिका र चार महानगरपालिका समेत सात सय ४४ गाउँपालिका तथा नगरपालिकाको नाम, संख्या, सीमाना तथा वडाको सीमाना कायम गरेको तथा नगरपालिका र गाउँपालिकाको निर्वाचन सम्पन्न भएपश्चात सम्बन्धित गाउँसभा वा नगरसभाले निर्णय गरेबमोजिम हुनेगरी केन्द्र कायम गरिएको छ ।
नगरपालिकाले विज्ञप्ति मार्फत कमजोरी सच्याउन तयार रहेको बताए पनि गल्ती सच्याउने काम गरेको छैन । नगरपालिकाको स्थापना नै नभइ कसरी स्थापना दिवस हुन्छ रु हुन्छ भन्ने जनप्रतिनिधिले अझै बुझ्न सकेको देखिएको छैन् । उपप्रमुख कविता ढुंगानाले हस्ताक्षर गरेको विज्ञप्तिमा माघ २७ को विदा स्थापना दिवस मनाउकै लागि दिएको दाबी गरिएको छ ।
जब कि २०७३ सालको फागुन २७ गतेमात्र बेलकोटगढी नगरपालिकाको घोषणा लागू भएको हो । जुन कुरा नेपाल राजपत्र हेर्दा स्पष्ट रूपमा बुझ्न सकिन्छ । नेपाल राजपत्रमा २०७३ फागुन २७ गते प्रकाशित सूचना अनुसार देशभरका चारसय ८१ गाउँपालिका, दुइसय ४६ नगरपालिका र तेह्र उपमहानगरपालिका र चार महानगरपालिका समेत सात सय ४४ गाउँपालिका तथा नगरपालिकाको नाम, संख्या, सीमाना तथा वडाको सीमाना कायम भएको छ ।
राजपत्रमा प्रकाशित त्यही सूचना अनुसार सोही मितिदेखि बेलकोटगढी नगरपालिका अस्तित्वमा आएको हो । नुवाकोटको बेलकोटगढी मात्रै होइन विदुर नगरपालिका बाहेकका अन्य १० स्थानीय तह समेत सोही मितिदेखि अस्तित्वमा आएका हुन । तर उपप्रमुख ढुंगानाले अझै पनि विज्ञप्ति मार्फत माघ २७ गते नै गरपालिकाको स्थापना दिवस रहेको बताउँदै सोही कारणले सार्वजनिक विदा दिएको दलिल पेश गरेकी छिन ।
उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन ‘नगरपालिका स्थापना प्रक्रियामा विभिन्न मितिहरू, सीमा निर्धारण आयोगको प्रतिवेदन, मन्त्रिपरिषद्को निर्णय, केन्द्र र नामको निर्णय, राजपत्रमा प्रकाशन जस्ता मितिहरू महत्वपूर्ण रहेकोमा नगरपालिकाबाट मिति २०७६/१०/२७ गते स्थापना दिवस मनाउने निर्यण भएको हो ।’
‘….लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो तर्क पेश गर्नु भन्दा पनि नगरपालिकाले कमजोरी सुधार्नमा ध्यान दिनु पर्ने थियो एक वडा अध्यक्षले दैनिकीसँग भने ‘हामीले पनि गल्ती औँल्याइदिएका थियौँ तर उपप्रमुखको ध्यान अनावश्यक शब्दहरूको खर्च गरेर गलत निर्णयको ढाकछोपमा केन्द्रीत भएछ । अब नगर कार्यपालिकाको अर्को बैठकमा यस विषयमा गम्भीर छलफल हुनेछ ।’
उपप्रमुख ढुंगानाले भनेको जस्तो स्थापना दिवसको नाममा विदा दिन नगरकार्यपालिकाको न कुनै बैठक भएको छ न त कुनै निर्णय नै । टुंगानाले विदाको बारेमा सूचना फेसबुक मार्फत सार्वजनिक गर्ने वित्तिकै कार्यपालिका सदस्य समेत रहेका नगरपालिकाका प्रवक्ता पशुपति लोहनीले गलत काम भएको भन्दै आपत्ति जनाएका छन भने कार्यपालिकाकै सदस्य रामहरि पाण्डेले स्थापना दिवस फागुन २७ गते भएको स्मरण गराएका छन ।
विज्ञप्तिमा स्थापना दिवसको नाम गरेर प्रमुख/उपप्रमुखको भारत भ्रमणको अवसरमा घोषणा गरिएको सार्वजनिक बिदा बैध बनाउने अनेक तर्कहरू गरिएका छन । यद्यपी तथ्यको कसीमा उभिएर हेर्दा उपप्रमुखले तर्क गरेको जस्तो त्यसदिन न नगरपालिकाको स्थापना दिवस हो, न त बिदा दिनका लागि नगरपालिकामा कुनै छलफल र बहस नै भएको छ । स्थानीय सरकार सञ्चालन ऐनले राजाको शैलीमा विदा घोषणा गर्ने अधिकार न त नगरप्रमुखलाइ दिएको छ न त उपप्रमुखलाइ नै ।
विभिन्न प्रतिक्रियापछि उपप्रमुख ढुंगानाले साामाजिक सञ्जालमा राखेको विदाको उक्त सूचना आफ्नो फेसबुकबाट मेटाएकी छिन तर दैनिकीसँग उक्त सूचना र त्यसमा नगर कार्यपालिकाका प्रवक्ताले जनाएको प्रतिक्रिया दैनिकीसँग सुरक्षित रहेको छ । स्थानीय तहले आफूअनुकुलको विदा दिन पाए पनि त्यसलाइ कानुन बनाएर कार्यान्वयन गराउनुपर्छ । यस सम्बन्धमा बेलकोटगढी नगरपालिकाले आजका दिनसम्म कुनै कार्यविधि समेत तयार गरेको छैन ।
२०७३ साल फागुन २७ गतेदेखि बेलकोटगढी नगरपालिकाको रूपमा अस्तित्वमा आएको नगरपालिकाको स्थापना दिवस कुन आधारमा माघ २७ हुन्छ । आम जनता र जनप्रतिनिधिले त्यही खोजिरहेका छन । तर नगरपालिका र प्रमुख र उपप्रमुखको पहिलो संयुक्त विदेश भ्रमणको दिन पारेर विधि बिपरित जसरी बिदा घोषणा गरियो त्यसको स्पष्ट सन्देश भनेको प्रमुख र उपप्रमुखको विधिमाथिको बलजफती हो ।
स्थापना दिवससँगै कुनै मेल नै नखाने बिदा भएको र कार्यपालिकाको प्रवक्ताले समेत उपप्रमुखले फेसबुकमा सेयर गरेपछिमात्र थाहा पाएको उक्त विदाको नियत भारत भ्रमणको खुशीयाली नै हो भन्नेमा दुबिधा छैन । कार्यविधि नै नबनि नगरकार्यपालिकाले निर्णय गरेर विदा दिने हो भने पनि कार्यपालिकाका सदस्यहरूलाइ कम्तिमा २४ घण्टा अघि एजेन्डासहित सूचना दिएर बैठकबसी निर्णय गर्नुपर्ने हो ।
तर यहाँत विदा दिने कुरा स्वयं कार्यपालिकाका सदस्यहरूले पनि फसबुक हेरेर जानकारी पाएका छन । त्यसकारण माघ २७ गतेको नगरपालिकाले दिएको सार्वजनिक विदा प्रमुख र उपप्रमुखको विदेश भम्रणको सन्दर्भ भन्दा बाहिरसँग मेल खाँदैन । स्थापना दिवसको बारेमा वर्षैभरी कार्यक्रम गर्न सकिएला, उत्सव र महोत्सव पनि गर्न सकिएला तर स्थापना दिवसको सार्वजनिक विदा प्रमुख र उपप्रमुखको अनुकुलतामा दिइदैन । कहीँ त्यसरी दिइन्छ भने बेलकोटगढी नगरपालिकाले अर्को विज्ञप्ति जारी गर्दा स्पष्ट पारोस ।
यस्तै युनोप्सको प्रायोजनामा नगरपालिकाका प्रमुख र उपप्रमुखले एकै पटक भारत भ्रमण गर्नुपर्ने के भवितव्य पर्यो भन्ने बारेमा विज्ञप्तिमा स्पष्ट पारिएको छैन । यद्यपी भ्रमणको क्रममा युनोप्सले स्थानीय तहका प्रतिनिधिलाइ भारतीय तीर्थस्थल लगायतका स्थानामा घुमाएको थियो ।
यो पनि पढ्नुहोस्
-मेयर र उपमेयर भारत जाँदा नुवाकोटको बेलकोटगढी नगरपालिकामा सार्वजनिक विदा !
प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार ०७:५८