१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा


२२ माघ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ ।

विशेष अदालत काठमाडौँमा बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनाविरुद्ध अख्तियारले बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गच्छदार नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि एक हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेका थिए ।

गच्छदार २०६३ सालमा मधेश आन्दोलन शुरू भएपछि नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए ।उनले माधवकुमार नेपाल सरकारमा सहभागी हुन तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए ।

फोरमबाट पटक–पटक सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए । सुनसरीबाट प्रत्यक्ष निर्वाचित गच्छदार अहिले नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १८:०८