१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गोसाइँकुण्ड पदयात्रामा हराएका २ युवा मृत भेट्टिए


१३ माघ, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौँ जोरपाटीका २० वर्षीय जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेट्टिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराएका व्यक्तिको खोजीका लागि गाउँपालिकामार्फत परिचालन गरिएको पर्यटक गाइडसमेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो । हराएका युवाको खोजीका लागि गाउँपालिका, प्रहरी, स्थानीयवासी एवं आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरे पनि अवस्था थाहा हुन सकेको थिएन ।

उनीहरुको खोजीका लागि गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएकामध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँचस्थित हिउँमा पुरिएको अवस्थामा दुवै जनाको शव बरामद गरेको हो । शव परीक्षणका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १६:२८