१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सम्झाएर मात्र सुधार्न सकिन्छ बालबालिका


१४ मंसिर, काठमाडौं  । केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त ?

अभिभावक अनुशासनको नाममा अथवा आफ्नो रिस बालबालिकालाई पिटेर वा गाली गर्ने गर्छन् । संकटा मन्दिरमा दर्शन गर्न आएकी रश्मी अधिकारी (नाम परिवर्तन) ले पनि आफ्नो छोरालाई दुई थप्पड लगाइन् । त्यसपछि बालकको नाकबाट रगत बग्न थाल्यो । सँगैको मेडिकल पसले सुरेश कार्कीले कपास दिए अनि आमालाई सम्झाएर पठाए । कार्की भन्छन्, ‘आमाले पिटेका बेला नाकमा परेको हुनसक्छ, त्यसैले रगत बगेको हो ।’

यसरी रिसमा आफ्ना बालबालिकालाई पिट्दा जता पनि पर्न सक्ने भएकाले यस्तो नगर्न उनको सुझाव छ । ‘बालबालिकालाई अनुशासित बनाउने बहानामा पिट्नुहुन्छ भने यो गलत तरिका हो,’ मनोविश्लेषक वासु आचार्य थप्छन्, ‘बच्चालाई सही बाटोमा डोर्‍याउन शारीरिक सजाय दिने वा पिट्ने कामले राम्रो नतिजा दिँदैन । बरु, यस्तो व्यवहारले बच्चामा डर, अत्माग्लानि, तनाव पैदा गर्छ ।’

मनोविश्लेषक आचार्यले बालबालिकालाई कहिले पिट्ने कहिले माया गर्ने जस्तो व्यवहार पनि गर्न नहुने सुझाव दिएको खबर गोरखापत्र दैनिकमा छ । उनी भन्छन्, ‘बुबा, हजुरबुबाको पालामा अनुशासनका लागि गरिने तरिका सही मानिन्थ्यो । डर पैदा गरेर काम लगाइन्थ्यो तर अहिलेका अभिभावकले कहिले पिट्ने तथा कहिले अत्यधिक मायाले बच्चा नै दुविधा पर्छ । जसले गर्दा बालबालिकाले आमाबुबालाई नटेर्ने, हेप्ने गर्न सक्छन् ।’

राष्ट्रिय बालअधिकार परिषद्का प्रमुख कृष्णप्रसाद भुसालले बालबालिकालाई मानसिक र शारीरिक रूपमा यातना दिन नहुने बताए । बालबालिकालाई यानता दिए के सजाय हुन्छ भन्ने नबुझेर पनि यस प्रकारको कार्य हुने गरेको भन्दै कानुनबारे जनचेतना दिनुपर्ने आवश्यक रहेको बताए । बालबालिका ऐन २०७५ दफा ७२ को उपदफा ३ (क)मा बालबालिकालाई कुनै प्रकारको शारीरिक तथा मानसिक यातना दिएको खण्डमा ५० हजार रुपियाँ जरिवाना र एक वर्ष कैद हुने व्यवस्था छ

सुधार्ने माध्यम खेल
बच्चालाई अनुशासित, संयमित, धैर्यवान् बनाउने राम्रो माध्यम खेलकुद भएको जानकारहरू बताउँछन् । खेल्न पाएपछि बच्चाहरू फुरुङ्ग हुन्छन् । खुसी हुन्छन् । उनीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ । यससँगै उनीहरूमा राम्रो गुणको पनि विकास हुन्छ । बच्चालाई सजाय दिएर, गाली गरेर होइन, सही विधिबाट सुधार्नुपर्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०७:१३