२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

भ्रष्टाचार आरोपमा अस्पताल व्यवस्थापन समिति खारेज हुँदा कांग्रेस स्तब्ध, हस्तक्षेप गर्ने चेतावनी


५ भदाै, काठमाडाैँ । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति खारेज गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको प्रति आपत्ति जनाएको छ ।

आज काङ्गे्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काङ्ग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुर नगरपालिकाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत अस्पतालको व्यवस्थापन समिति खारेज गरी नगरप्रमुखको नेतृत्वमा नयाँ समिति गठन गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिको आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर चालेको कदम काङ्ग्रेसलाई मान्य हुने छैन, यसलाई नगरपालिकाले नसच्याए काङ्ग्रेसले नगरपालिकाको निकायमा हस्तक्षेप गर्छ ।”

अस्पतालमा भ्रष्टाचार भए छानबिन गर्ने र कारवाही गर्ने सरकारको निकाय हुदाँहुदै बहुमत जनप्रतिनिधिको दम्भमा नगरपालिकाले शुरुमा भक्तपुर अस्पतालको जमीन कब्जा गरी सार्वजनिक शौचालय बनाएको र अहिले क्यान्सर अस्पताल कब्जा गर्न आफ्नै नेतृत्वमा समिति गठन गरेको उहाँले आरोप लगाउनुभयो । अब नेमकिपा र नगरपालिकाले गरेको भ्रष्टाचारको काङ्ग्रेसले छानबिन गर्ने थापाको भनाइ थियो । “नगरपालिकाले सञ्चालन गरेको ख्वप लगायतका ६ कलेजमा भएको भ्रष्टाचार, उपभोक्ता समितिको नाममा अर्बाैँ रुपैयाँ भ्रष्टाचारको काङ्ग्रेसले छानबिन गर्छ ।”

काङ्ग्रेस सचिव निशान ढुङ्गेल, प्रेस संयोजक केदार खड्कालगायतले नेमकिपाले कानूनलाई लत्याएर समितिका पदाधिकारीलाई अस्पतालभित्र छिर्न नदिइ कब्जा गरेको आरोप लगाउनुभयो । नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समितिले अस्पतालमा व्यापक अनियमितता गरेको भन्दै भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गरी नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार २१:२७