२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

चालू आर्थिक वर्षमा मुक्त हलिया पुनःस्थापना भैसक्ने मन्त्री अर्यालको घोषणा


८ वैशाख, भीमदत्तनगर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित मुक्त हलिया पुनःस्थापना वस्तीको अवलोकन गर्नुहुँदै मन्त्री अर्याललले अहिले काम गर्ने समय भएको धारणा राख्नुभयो ।

उहाँले मुक्त हलियाका पक्षमा आवश्यक नीति बनाउन पहल भएको बताउनुभयो । “मुक्त हलियाका पक्षमा बोल्ने व्यक्ति नै अहिले नीति निर्माण तहमा छन्”, मन्त्री अर्यालले भन्नुभयो, “१३ वर्षसम्म मुक्त हलियाको पुनःस्थापना हुन नसक्नु दुःखद् हो ।” उहाँले चालू आर्थिक वर्षमा मुक्त हलिया पुनःस्थापना भइसक्ने दाबीसमेत गर्नुभयो ।

उहाँले मुक्त हलियालाई आगामी वर्षमा सीपमूलक तालीम तथा रोजगारी दिने खालका लक्षित कार्यक्रम सरकारले ल्याउने जानकारी दिनुभयो । मन्त्री अर्यालले यहाँको मालपोत कार्यालय, भूमि सुधार कार्यालय र नापी कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । कार्यालयको अवलोकन गर्दै उहाँले मालपोत र नापी कार्यालयको काम डिजिटल प्रविधिमा हुने बताउनुभयो ।

“अब सरकारले सेवालाई प्रविधिमैत्री बनाउँछ, जनतालाई खुशी हुने कार्यक्रम ल्याउँछ”, मन्त्री अर्यालले भन्नुभयो, “कर्मचारीले काममा ढिलासुस्ती गर्नुहुन्न ।” सो क्रममा हलिया मुक्ति समाजका अध्यक्ष सिपी लोहारले कञ्चनपुरमा दुई हजार ५०० मुक्त हलियामध्ये एक हजार ८०० मुक्त हलियाले परिचयपत्र पाएको बताउनुभयो । एक हजार ४०० मुक्त हलिया पुनःस्थापन भएको अध्यक्ष लोहारको भनाइ छ । रासस

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २३:१६