१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नेपाली चलचित्र ‘क्याप्टेन’ हेरिसकेपछि प्रधानमन्त्री ओलीले अनमोल केसी चिनेनन्


७ चैत, काठमाडौं । नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न पुगेका प्रधानमन्त्री केपी ओलीले चलचित्र हेरिसकेपछि आफूले अनमोल केसीलाई नचिनेको बताएका छन् । प्रधानमन्त्री ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा चलचित्र हेर्न पुगेका थिए । चलचित्र हेरिसकेपछि प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भन्नुभयो, ‘अनमोल केसी त चिन्या छैन मैले, इशान खड्का मात्र चिन्या हो ।

नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलसँग आधारित कथावस्तु छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

चलचित्र हेरेपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूले अनमोल केसीलाई नचिनेको बताउनुभयो । अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भन्नुभयो, ‘अनमोल केसी त चिन्या छैन मैले, इशान खड्का मात्र चिन्या हो ।’ प्रधानमन्त्रीले यसो भन्दै गर्दा प्रधानमन्त्री पछाडि रहेका अनमोल केसी मुसुमुसु हाँसिरहेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार १३:४७