१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

बलिउडमा कश्मिर हमलाबारे फिल्म बनाउन होडवाजी, अहिलेसम्म २३ नाम दर्ता


१८ फागुन, एजेन्सी ।  पुलवामा आक्रमणको जिम्मेवारी लिएको जैश–ए–मोहम्मदको तालिम केन्द्र निशाना गरेर भारतले मंगलबार बमबारी गर्यो । यसको लागि भारतीय वायु सेनाको विशेष विमान पाकिस्तानी आकासभित्र प्रवेश गरेका थिए ।

बमबारीमा १००० किलो बम प्रहार गरेर तालिम केन्द्र ध्वस्त पारेको भारतको दावी छ । त्यसको भोलिपल्ट भारतीय वायु सेनाको एक लडाकु विमान पाकिस्तानी भूमीमा दुरघटनाग्रस्त भयो । विमान दुरघटना हुनु अघि विमानमा सवार पाइलट अभिनन्दन वर्धमान प्यारासुटबाट उम्कन सफल भए ।

अभिनन्दनलाई केही समयपछिनै पाकिस्तानी सेनाको नियन्त्रणमा लिएको थियो । तर दुई देशबीच बढीरहेको तनाव कम गर्न पाकिस्तानी प्रधानमन्त्रीले अभिनन्दनलाई भारत फिर्ता गरिदिए ।

यी घटनाहरुलाई समेटर फिल्म बनाउने विषयमा बलिउडमा होडवाजी सुरु भएको छ । फिल्मको लागि हालसम्म ‘पुलवामा’, ‘बालाकोट’, ‘एयर स्ट्राइक’, ‘अभिनन्दन’जस्ता नामहरु दर्ता गराइसकेका छन् ।

पछिल्लो दुई–तीन दिनभित्र ‘इण्डियन मोशन पिक्चर्स प्रोड्यूसर्स एसोसिएशन(इम्पा)’को कार्यलयमा कयैन नाम चलेका बलिउड निर्माताहरु यस मुद्धा समेट्ने फिल्महरुका शिर्षक दर्ता गराउन पुगेका थिए ।

भारतीय मिडिया भास्करका अनुसार हालसम्म इम्पामा २३ ‘शिर्षक’ दर्ता भइसकेको छ । भास्करका अनुसार इम्पाका अध्यक्ष टीपी अग्रवालले यसको पुष्टि गरेका छन् ।

भारतीय वायु सेनाले पाकिस्तान प्रशासित काश्मिरमा जैश–ए–मोहम्मदको तालिम केन्द्रमा बमबारी गरेको खबर आउनासाथ इम्पामा निर्माताहरु र फिल्म निर्माण गर्ने करपोरेट स्टुडियोहरुको दौड सुरु भएको थियो । अघिल्लो पटक सन् २०१६मा भारतले पाकिस्तानमा आधार रहेको आतंकवादीहरुको आधारमा गरेको हवाई हमलालाई समेटेको फिल्म ‘उरी’ बनेको थियो ।

फिल्मले राम्रो कमाई गर्यो । यस फिल्मका निर्माताले ‘एयर स्ट्राइक’ र ‘हाउ इज द जोश’ जस्ता शिर्षक दर्ता गराएका छन् । टी–सीरीज क्यासेटको तर्फबाट मात्रै पुलवामा नामसँग मिल्दोजुल्दो लगभग ७ नाम दर्ता भएको छ । टी–सीरिजले शुक्रबार विंग कमाण्डर अभिनन्दन नामबाट पनि एक फिल्म शिर्षक दर्ता गराएको भास्करले लेखेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार १४:१५