१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

चार सय महिला बेचेको अभियोग लागेका कांग्रेस नेता सुनबहादुरलार्इ ३७ वर्ष जेल सजाय


९ चैत, नुवाकोट । चार सय महिला बेचेको अभियोग लागेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई चेलीबेटी बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना जेल सजाय साथै रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । ताकाङका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।

नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौँ जिल्ला अदालतमा समेत दायर गरेको थियो ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ । उनीहरु हाल फरार छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १२:३५