१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कामका लागि जापान जाने बाटो खुल्यो, नेपालीलाई नेपाली भाषामै परामर्श दिने जापानको नीति


१० पुस, काठमाडाैँ । जापान सरकारले विदेशी कामदार भित्र्याउने नयाँ नीति लागू गरेको छ । विश्वभरका विदेशी कामदार आकर्षित गर्न जापानले  मंगलबारबाट १२६ वटा नयाँ नीति एकैपटक लागू गरेको छ । यो नीतिले विदेशी कामदारका लागि जापान खुल्ला भएको छ ।  योसँगै नेपालीसहित विदेशी कामदारका लागि जापानमा रोजगारीमै जाने बाटो खुलेको छ ।

नयाँ नीतिहरू लागू गरेसँगै जापानका प्रधानमन्त्री सिन्जो आबेले आफ्ना मन्मिण्डलका सदस्यलाई ठूला सहरमा मात्र नभएर साना सहरहरुमा समेत रोजगार सिर्जना गरेर विदेशी कामदारलाई आकर्षित गराउने वातावरण बनाउन निर्देशन दिएका छन्।

कम्तीमा ३ लाख ४५ हजार १५० विदेशी कामदारलाई रोजगार भिषा अन्तर्गत आफ्नो देशमा भित्र्याउने लक्ष्यसहित जापानले नयाँ नीति ल्याएको हो । नयाँ नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुने र यसले ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श दिने भएको छ । जापानको नयाँ नीतिमा नेपाल पनि उच्च प्राथमिकतामा परेको छ ।

जापानले ११ भाषामा विदेशी कामदारलाई परामर्श दिनेमा नेपाली भाषा समेत समावेश गरेको छ । योसँगै नेपालबाट जाने कामदारले नेपाली भाषामै पनि परामर्श पाउनेछन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्टले नेपालले योग्य कामदार जापान पठाउन चाहेकाले सरकारी तहमै सम्झौताको पहल गरिदिन यसअघिको भेटमा जापानी राजदूतलाई आग्रह गरेका थिए । जापानी राजदूत मासामिची सेइगोसँग गत असारमा भएको पहिलो भेटमै मन्त्री विष्टले नेपाली विद्यार्थी र जिट्को जाने कामदारलाई दलालले ठगी रहेका त्यो रोक्नका निम्ति अाग्रह गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण बिष्ट र जापानी राजदूत मासामिची सेइगोसँग गत असारमा भएको भेटवार्ताको तस्बीर ।

मन्त्री विष्टले नेपाल सुरक्षित वैदेशिक रोजगारीको पक्षमा रहेको भन्दै दलालहरुलाई निरुत्साही र नियन्त्रण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अाएका थिए । विगतमा जिटको अन्तर्गत नेपाली प्रशिक्षार्थीहरुलाई जापान पठाउने प्रणालीको नाजायज फाइदा केही मेनपावर कम्पनीले उठाएकाले नयाँ प्रक्रियाबाट कामदार पठाउन नेपाल तयार रहेको मन्त्री विष्टले बताउने गरेका छन । जपानमा आइटी इन्जिनियरिङ, नर्सिङ, केयरगिभर, मार्केटिङ तथा सेल्स स्टाफ, एकाउण्टिङ, होटल तथा रेष्टुरेण्ट क्षेत्रमा रोजगारीका अवसर दिन जापानलाई विष्टले आग्रह गरेका थिए ।

मंसिर पहिलोसाता जापान भ्रमणमा जाँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारी तहबाटै समझदारी गरेर जापानको श्रम बजारमा नेपाली कामदार पठाउनेबारे छलफल गरेका थिए । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणपछि बताएका थिए ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १८:४४