४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

चार लाख धरौटी बुझाउन नसकेपछि दिपेश पुन कारागार चलान


७ वैशाख, काठमाडाैं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका छन्। शुक्रबार जिल्ला अदालत रूपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा पुनलाई चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।

सहकारी ठगी प्रकरणमा अध्यक्ष ओमप्रकाश गुरूङ लगायत ६ जनासहित पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो।

धरौटीमा छोड्न आदेश भएका नविन अछामीले पनि धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अछामीसँग १० लाख धरौटी माग गरिएको थियो।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुन र अछामीले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको जानकारी दिए। धरौटी जम्मा गरेपछि भने उनीहरू रिहा हुनेछन्।

यस्तै धरौटीमा छोड्न आदेश गरिएका दुर्गा चापागाईं पाण्डेय, नीता थापामगर, दीपक गुरुङ र रोशनी गुरुङ भने धरौटी रकम बुझाएर छुटेका छन्।

दुर्गा चापागाईं पाण्डेयसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरूङसँग २/२ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। बचतकर्ताहरूको ९६ करोड बढी रकम ठगी प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङलाई भने थुनामा पठाउने आदेश भएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १८:४८