१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि


५ वैशाख, अन्नपूर्ण (कास्की) । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालांगहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत हुनुपरेको तीतो अनुभव उनीसँग छ ।

वर्षौंदेखि झेल्दै आएको त्यो समस्याबाट अब भने रीता मुक्त भएकी छन् । ‘पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्‍याे। त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो’, उनले भनिन्, ‘प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ । प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।’

रीताजस्तै अरु दृष्टिविहीन पनि अबका दिनमा अरुको सहाराबिना हिँड्डुल गर्नेमा विश्वस्त छिन् । उनीहरुका लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की नेत्रहीन संघले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम दिएको छ ।

तालिममा भाग लिनुभएकी दृष्टिविहीन रोजिना घिमिरेले आवश्यकताले सञ्जाल चिनाएको बताइन् । ‘प्रविधिले अपांगता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दुष्टियुक्त बनाउन मद्दत गरेको छ,’ उनले भनिन् ।

‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताइन् । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले उनको विश्वास छ ।

तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ‘ई–सेवा, इन्ड्राइभ, पठाओ’जस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिए । यसले उनीहरूको दैनिकीमा सहयोग पुग्ने सुनाए ।

प्रविधिको अधिकतम प्रयोग गर्नसके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उनको भनाइ छ । ‘प्रविधिमा साँच्चै हाम्रो पहुँच हुने हो भने हामीले हीनतावोध गर्नुपर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ’, प्रशिक्षक शर्माले भने, ‘तर चुनौती भनेको यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न ‘एप्लिकेसन डेभ्लपर’लाई थाहा छ । यो चुनौती चिर्न स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्न जरुरी छ ।’
राष्ट्रिय अपांग महासंघ केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरूलाई सक्षम बनाएको बताए । कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले संघले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिहेको बताए । कास्कीमा एक हजार ५ सयको हाराहारीमा दृष्टिविहीन रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ११:१३