१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

चार दिनमै छुटे जाँड खाएर अर्धनग्न अवस्थामा अर्काको घरमा छिरेका सरकारी शिक्षक


५ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ दुईपिपलमा रहेको कामरूदेवी माविका एक शिक्षक जाँडले मातेर अर्धनग्न अवस्थामा अर्काको श्रीमतिलाई हातपात गरेको अभियोगमा पक्राउ परेर चार दिनमै छुटेको पाइएको छ । अभद्र व्यवहारको अभियोगमा चैत २६ गते पक्राउ परेका विद्यालयका प्रवि शिक्षक रामप्रसाद दाहाल चैत २९ गते जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन । उनी धरौटीमा रिहा भए लगत्तै विद्यार्थी भर्ना अभियानको व्यानर बोकेर घरदैलो अभियानमा समेत हिँडेका थिए । पीडितले दिएको जाहेरी भन्दा वयान फरक बनाएर प्रहरीले मुद्दा कमजोर बनाएको भन्दै पीडित पक्षले न्यायको माग गरेका छन । उनीहरूले नेपाल प्रहरीको केन्द्रीय कार्यालयको गुनासो शाखा र राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएको बताएका छन ।

के भएको थियो ?

२०८० सालको चैत ११ गते राति बेलकोटगढी नगरपालिकाकै वडा नम्बर ६ मा रहेको एक दाहालकै घरमा ती रामप्रसाद दाहाल नामका शिक्षक जाँडले मातेर एक किलो मासु बोकेर पुगेका थिए । उक्त घरमा श्रीमान नभएको र श्रीमतीमात्रै भएको पहिल्यै चाल पाएका उनी गलत नियतका साथ पुगेका थिए । पाइन्ट चने र टाँक खोलेर अर्धनग्न अवस्थामा मोटरसाइकलमा लड्दै लड्दै ती शिक्षक पीडितको घरमा पुगेका थिए । उनले पीडित महिलालाई मासु पाकाएरसँगै खाना खाएर बस्ने प्रस्ताव गरे । त्यसपछि पीडित महिलाले उनको प्रस्ताव अस्वीकार गरिन । पीडित महिलाले प्रस्ताव अस्वीकार गरेपछि शिक्षकले हातपात गरेका थिए । स्रोतका अनुसार शिक्षक दाहाल यो सवालमा पटके हुन । धेरै महिलाले पीडित भएर पनि यसबारेमा बोल्न भने सकेका छैनन् । तर चैत ११ गतेको पीडित महिला भने प्रहरीकोमा पुगेकी छिन ।

जाहेरी दर्तामै अलमल

पीडित महिलाका आफन्त राममणि दाहाल प्रहरीले जाहेरी दर्तामै असहयोग गरेको बताउँछन । पीडित महिलाले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी थिइन । पीडितको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालयले स्थानीय प्रहरीलाई पत्र नै पठाएर घटनास्थल मुचुल्का तयारपारी पठाउन अनुरोध गरेको थियो । सोही अनुसार वडाको प्रतिनिधि र स्थानीयसहितको उपस्थितिमा घटनास्थल मुचुल्का तयार भएको थियो ।

मुचुल्कामा शिक्षक रामप्रसाद दाहाल जाँड खाएर अर्काको घरमा गएको, एक्लै भएको महिलालाई दूर्व्यवहार र हातपात गरेको र पीडित महिलाको घरमा पुग्दा शिक्षकको पाइन्टको टाँक र चेन खुला रहेको कुरा उल्लेख गरिएको छ । तर पीडितका आफन्त राममणिका अनुसार मुचुल्का जिल्ला प्रहरी कार्यालय पुग्ने बित्तिकै हातपातको कुरा झिक्न प्रहरी निरीक्षकको निर्देशन भन्दै एक सहायक निरीक्षकले फोन गरेका थिए । तर पीडित पक्षले उक्त विषय हटाउन मानेन् । त्यसपछि किटानी जाहेरीको दर्ता गर्न प्रहरीले अलमल गरेको पीडितका आफन्तले बताए ।

तस्बिरः शिक्षकको फेसबुकबाट साभार ।

पीडितका आफन्तले नेपाल प्रहरीको गुनासो सुन्ने नम्बर १११३ फोन गरेर घटना विवरणको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गरेको राममणि बताउँछन । जाहेरी दर्ता लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटका अधिकारीले पीडकको पक्षमा लागेर मिल्नका लागि भनेर अनावश्यक दबाब दिएको र दूर्व्यवहार र हातपातको कुरालाई हल्का रूपमा लिएर पीडितलाई निराश बनाउन खोजेको पीडित पक्षको आरोप छ । पार्टीका नेताहरूको आदेश कुरेर न्याय सम्पादन गर्ने प्रहरी प्रशासनमा यदाकदा पाइन्छ । शायद त्यही अभ्यास नुवाकोटमा पनि भएको हुन सक्छ ।

प्रहरी प्रमुख भन्छन, पीडितलाई चित्त नबुझे मकहाँ पठाइदिनु

हामीले घटनाका बारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराम कोइराज कोइरालासँग बुझ्दा उनले पीडितलाई चित्त नबुझेको भए फेरि कानुनी उपचार खोज्न सक्ने बताए । उनले दैनिकीसँग कुरा गर्दै भने, ‘यो घटना म आउनु भन्दा अघिको रहेछ । यद्यपी पक्राउ परेर छुटेका शिक्षकले मदिरा सेवन गरेको कुरा मेडिकल रिपोर्टमा देखिएको छ । अर्काको घरमा गएको र अभद्रव्यवहार गरेको कुरा घटनास्थल मुचुल्कामा देखिन्छ । हामीले अभद्रव्यवहारमै जोहरी परेपछि सोही अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको सोही अनुसार पक्रिया अघि बढेको हो । यसमा हामीले कसैको पक्षमा काम गर्ने भन्ने होइन । पीडितलाई चित्त नबुझेको छ भने मकहाँ पठाइदिनु उहाँहरूको गुनासो सम्बोधन हुन्छ ।’

धरौटीमा छुटे शिक्षक

पीडितको जाहेरी लिएपछि चैत २६ गते जिल्ला प्रहरी कार्यालयले पीडिक भनिएका शिक्षक रामप्रसाद दाहाललाई  पक्राउ गरेको थियो । त्यसपछि चैत २९ गतेसम्म पीडक र पीडितलाई मिलाउने प्रयास गरेको र नभएपछि जिल्ला प्रशासन कार्यालयले सामान्य धरौटीमा शिक्षकलाई रिहा गरिदिएको थियो । धरौटीमा छुटेको भए पनि शिक्षकको मुद्दा भने नटुंगिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले दैनिकीलाई जानकारी दिए ।

नगरपालिका नेतृत्वको रहस्यमय मौनता

बेलकोटगढी नगरपालिकाको मातहतमा रहेको विद्यालयका सरकारी शिक्षक गम्भीर आरोपसहित पक्राउ परेर छुटिसक्दा पनि नगरपालिकाका प्रमुख जगतबहादुर गुरूङले विषयका बारेमा अनभिज्ञता प्रकट गरे । उनले दैनिकीसँग कुरा गर्दै बाहिर चाहिँ आफूले कुरा सुनेको तर नगर शिक्षा शाखामा यसबारेमा कुनै जानकारी नआएको बताए । दैनिकीले तपाईहरूको मातहतमा रहेको विद्यालयका शिक्षकको नैतिकतामा गम्भीर प्रश्न उठेर प्रहरी कारबाही हुँदा पनि तपाईहरूले केही गर्नुपर्दैन भन्ने प्रश्नमा उनले भने, ‘नगर शिक्षा शाखामा कुनै जानकारी आएको छैन । उजुरी वा जानकारी केही नभएपछि हामीले कारबाही गर्ने कुरै भएन ।’

हामीले बेलकोटगढी नगरपालिकाले पछिल्लो समयमा शिक्षा क्षेत्रको विकृति ढाकछोपका गरिरहेका पछिल्ला प्रयासहरू नजिकबाट नियाली रहेका कारण यो विषयमा पनि नगरको नेतृत्वले कतै झुटो बोलेको त हैन भन्ने लागेर कामरूदेवी माविका प्रधानाध्यापक सावित्री अर्यालसँग शिक्षक दाहालका विषयमा चासो राखेका थियौँ । उनले दैनिकीको प्रश्नमा जवाफ दिँदै भनिन्, ‘हामीले नगर शिक्षा शाखाका बद्रीसरलाई फोन गरेर जानकारी दिएका थियौँ । पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयबाट आएको पत्र शिक्षक धरौटीमा छुटेर आएपछिमात्र पाएको छौँ । उक्त पत्र चाहिँ पठाइएको छैन । यो विषय प्रमुख जिल्ला अधिकारीसँग पनि राखेको छु ।’

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ११:५२