१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

प्रधानमन्त्री समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस


३ वैशाख, काठमाडाैँ ।  प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस भएको छ । सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रधानमन्त्रीलाई सो प्रतिवेदन पेस गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा मुख्यसचिव डा वैकुण्ठ अर्याल, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । प्रतिवेदन ग्रहणपश्चात् प्रधानमन्त्री दाहालले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्बाट निष्कर्षमा पुर्याउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १८:०१