१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

साइबर अपराधको मुद्दामा पुनः पक्राउ परिन रश्मिला धामी


३ वैशाख, काठमाडौँ । सामाजिक सञ्जालको दुरूपयोग गरेर चरित्रहत्या गरेको अभियोगमा रश्मिला धामी पुनः पक्राउ परेकी छिन । प्रहरीले आइतबार व्यक्तिको चरित्रहत्या गरेको अभियोगमा धामीलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइब ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीले दैनिकीलाई जानकारी दिए । रश्मिलाले फेसबुक लाइभ मार्फत विभिन्न व्यक्तिका बारेमा अनावश्यक टिकाटिप्पणी गर्दै आएकी थिइन ।

अनेरास्ववियुकी एक नेतृत्को जाहेरीका आधारमा ब्यूरोले बझाङ बंगालकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट वैशाख २ गते पक्राउ गरेको हो । एसपी अवस्थीले धामीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताएका छन ।

तस्बिरः रश्मिलाको फेसबुक ।

धामी यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी थिइन । जिल्ला अदालतको सजायँ समेत धामीले भुक्तान गर्न बाँकी रहेको स्रोतले बतायो । जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

सो फैसलाको पूर्ण पाठ नआउँदै रश्मिलाले सामाजिक सञ्जालमार्फत पुनः आपत्तिजनक ढंगले विभिन्न व्यक्तिहरूको नाम लिएर चरित्रहत्या गरिरहेको प्रमाण ब्यूरोमा पुगेको छ । यसअघि धामीले नै अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमविरुद्ध पनि बिभिन्न झुटा आरोप लागाउदै अपराधिक लाभ लिएको भन्ने जाहेरी दिएर एक दिन पक्राउ गराएकी थिइन । धामीले विभिन्न पुरुषलाई मागेजति रकम नदिए बलात्कारको जाहेरी दिन्छु, बदनाम गर्छु भन्दै गरेका मेसेज र अन्य प्रमाणहरु समेत प्रहरीकोमा बुझाइएको बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १४:२८