१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मकै जोन सुरु गरेसँगै जटिल बन्दै हात्ती समस्या


३ वैशाख, झापा । सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधन, को क्षति बढेको बताउनुभयो ।

उहाँले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताउनुभयो ।

“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो । जति यसको खेती बढ्यो उति हात्तीको सङ्ख्या र क्षति बढिरहको हाम्रो अनुसन्धानले देखाएको छ ।” उहाँले सोबारेमा सरकारको ध्यानाकर्षण गरिसकेको बताउनुभयो ।

जिल्लामा बढिरहेको हात्ती समस्या न्यूनीकरणका लागि बाली परिवर्तन अनिवार्य देखिएको उहाँले बताउनुभयो । उहाँले विगतमा पनि मकै खेतीकै कारण वैशाख पहिलो सातादेखि असारको तेस्रो हप्तासम्म जिल्लामा भारतबाट आउने जंगली हात्ती समेत थपिएर आतंक मच्चाउने गरेको जानकारी दिनुभयो । उहाँले जिल्लामा ३० भन्दा बढी रैथाने हात्ती रहेको बताउनुभयो ।

प्रमुख राईले हाल दैनिक सातदेखि आठ वटा राहतका लागि निवेदन लिएर कार्यालयमा हात्ती पीडित किसान आउने गरेको बताउनुभयो । उहाँले विसं २०८० असार ८ गतेदेखि हालसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छ जना, घर र बालीनालीमा क्षति पुर्याएको पाँच सय ३३ र घाइते गरी रु एक करोड ३० लाखभन्दा बढी रकम जिल्लामा राहत स्वरुप बाँड्न बाँकी रहेको जानकारी दिनुभयो ।

यसैगरी बुद्धशान्ति गाउँपालिकाका किसान जङ्गली हात्तीले दैनिक जसो पुर्याउने क्षतिबारे राज्य बेखर बनेको भन्दै आक्रोषित बनेका छन् । स्थानीय सीताराम बाँस्तोलाले सरकारले हात्ती न्यूनीकरणमा देखाएको उदासिनताका कारण आफूहरु मारमा परेको बताउनुभयो । उहाँले सो पालिकामा मात्र दैनिक जसो साँझ परेपछि आउने जंगली हात्तीले १० बिघाभन्दा बढी क्षेत्रको मकै खेती खाएर र कुल्चेर नष्ट गरेको बताउनुभयो ।

स्थानीय आदर्श सामुदायिक वनमा बस्ने हात्तीले साँझ परेपछि गाउँबस्तीमा पसेर बालीनाली नष्ट गर्ने गरेको उहाँको गुनासो छ । उहाँले मकै खान आएको हात्तीलाई लेख्टन खोज्यो भने उल्टै मानिसलाई नै आक्रणम गर्न आउने गरेको बताउनुभयो । “हात्ती थेतरो भइ सकेछ”, उहाँले भन्नुभयो, “पहिला पहिला त हो होल्ला गर्दा भाग्थ्यो । अहिले त उल्टै हामीलाई नै आक्रमण गर्न फर्कन्छ ।”

उहाँले सरकारले हात्ती प्रभावित क्षेत्रमा साइसनसहितको गाडीले गस्ती गर्ने हो भने पनि स्थानीयलाई राहत हुने बताउनुभयो । उहाँले समस्या बारे पटकपटक स्थानीय सरकार र डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा अटेर गरेका कारण हात्ती पीडित मिलेर आन्दोलन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तपूर्वकको मागलाई कसैले सुन्दोरहेनछ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन नै रोज्नुपर्ने परिस्थितिको सृजना भइसक्यो ।”

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ०६:०१