१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

विदेशी भुमीमा `बा आमा´का लागि नयाँ बर्षमा बनभोज


एडिलेड । एडिलेड नेपाली समाजको आयोजनामा साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा बनभोज तथा नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

साउथ अष्ट्रेलियाको क्रियाशिल मध्ये सबै भन्दा पुरानो संस्था समेत रहेको समाजद्वारा आयोजित ६औ वनभोजमा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो ।

एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा भएको वनभोजमा अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ७०० भन्दा बढिको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले नयाँ २०८१ को शुभकामना व्यक्त गर्दै अभिभावकहरुलाई भेटघाटको मौका मिलाएकोमा समाजलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम संयोजक श्याम दहालले सहभागिता तथा सहयोगीहरुलाई धन्यवाद दिदै नेपालबाट आउनु भएको अभिभावकहरुलाई आफ्ना सन्तान रहेको समुदाय संग परिचत गराउने र आफु जस्तै अभिभावक संग भेटघाट गर्ने मौकाका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

समाजको निमन्त्रणालाई स्विकार गरेर ठुलो संख्यामा उपस्थित हुनु भएका अभिभावक प्रति कृतज्ञता व्यक्त गर्दै समाज अध्यक्ष देवराज कडेलले नेपालबाट भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा समाजले वनभोज गर्दै आएको बताए ।

विविध रमाइला खेलकुद कार्यक्रम  संचालन गर्दै  समाजका पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले खेलकुद लगायतका कार्यक्रममा निकै सक्रियता पुर्व अभिभावकहरुले सहभागीता जनाउनु भएको देखेर कार्यक्रम सार्थकता पाएको बताए । भजन कृतन सहित विभिन्न नेपाली गित संगितमा सहभागीहरुले नाच गान गरेका थिए । नेपालबाट आएका अभिभावकहरु खुशी देखिन्थे ।

दैनिकी संग कुरा गर्दै काठमाडौंका कृष्ण शर्माले एडिलेड गाउ जस्तो हो नेपाली पनि खासै छैनन भन्ने कुराले छोरा बुहारी हिड्ने बेलामा पिर लागे पनि यहा अझै यस कार्यक्रमको उपस्थितिले खुशी लागेको बताए । अर्का अभिभावक तारानिधी पन्तले आफु एडिलेडको उत्तरी क्षेत्रबाट स परिवार आएको बताए । उनले यत्रौ समुहलाई खाना सहितको व्यवस्था गरेकोमा आभार व्यक्त गरे । पोखराकी चन्द्र माया कुवरले बा आमा बच्चाहरु सबैलाई खेलकुद देखी खाना सम्म व्यवस्था गरेकोमा आधार व्यक्त गरिन् । अभिभावकहरुका हाडी फोर, म्युजिकल चियर तथा बालबालिकाहरुका लागि चम्चा दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा खेलका विजयी तथा सहयोगीहरुलाई ट्रफी तथा मायाको चिनो प्रदान गरिएको थियो । बिजयीहरुलाई साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, समाजका अध्यक्ष देवराज कडेल, पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, उपाध्यक्षहरु सागर श्रेष्ठ र एलिजा ढकाल, कार्यक्रम संयोजक श्याम दहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १८:०६