१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

अखण्ड भण्डारीको ‘बोरा’भित्र सन्तानबाट अपहेलित आमाको कथा


३० चैत, काठमाडौँ । लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको ‘बोरा’ उपन्यास आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध अभिभावकप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको  लेखक भण्डारीले जानकारी दिनुभयो । उपन्यास आफना सन्तानबाट अपहेलित आमाको कथामा आधारित भएको उहाँले बताउनुभयो ।

तस्बिरः अशोक दुलाल साभारः अन्नपूर्ण

“यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ”, लेखक भण्डारीले भन्नुभयो, “आफनै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक दर्दनाक परिस्थितिलाई समेटिएको छ । तर मैले भेटेको यथार्थको पात्र र परिवेश उपन्यासमा फेरिएका छन् । यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक लेखन हो ।”

पिसबुक प्रालिद्धारा प्रकाशित उपन्यासमा ४७० पृष्ठ छ । पुस्तकको मूल्य रु ७०० छ । लेखक एवं पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेख्नुभएको थियो । उहाँले पत्रकारिता क्षेत्रमा ‘समाचारमा भाषा’ पुस्तक समेत लेख्नुभएको छ । उहाले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल गर्नुभएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार २२:११