१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कार्यालयमा ताला ठोकेर बेलकोटगढीका जनप्रतिनिधि र कर्मचारी नयाँ वर्ष मनाउन लुम्बिनीमा


३० चैत, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी नयाँ वर्ष मनाउन लुम्बिनी पुगेका छन । पाँच दिने अध्ययन, अवलकोन भ्रमणको कार्यक्रम बनाएर उनीहरू लुम्बिनी लागेका हुन । नगरपालिकाको कार्यालय चार दिनसम्म बन्द गराएर उनीहरूले पाँच दिनको कार्यक्रम बनाएर लुम्बिनी पुगेका हुन । एमालेबाट निर्वाचित भएका चार जना वडा अध्यक्षले भने नगरपालिकाले बजेट नभएको भनेर सम्पन्न भएको योजनाको समेत भुक्तानी दिन नसकेको बेलामा नयाँ वर्ष मनाउने नाममा राज्यस्रोतको दुरूपयोग हुने भन्दै जान अस्वीकार गरेका छन ।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका नगरप्रमुख जगतबहादुर गुरूङको नेतृत्वमा गएको भ्रमण टोलीमा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेलाई भने निषेध गरिएको छ । भ्रणमा नेपाली कांग्रेसका नेता समेत रहेका उपप्रमुख शिवप्रसाद दाहाल र १३ मध्ये ९ वटा वडाका अध्यक्ष, कर्मचारीहरूबाट विभिन्न शाखाका प्रमुखहरू र प्रमुख र उपप्रमुखका सहयोगीहरू रहेका छन । उनीहरू बिहीबार बिहानै हिँडेका हुन । कतिपयले बुधबार नै नगरपालिका छाडेर हिँडेका थिए । अब उनीहरू सोमबारबाट नगरपालिकाको कार्यालयमा हाजिर हुनेछन । घुम्न गएको विषय बाहिर आउने डरले कतिपय वडा अध्यक्षले तालिममा जान लागेको बताएका छन, कतिपयले बिरामी भएर घरमै रहेको बताएका छन ।

बेलकोटगढीका प्रमुख प्रशासकीय अधिृकत पिताम्बर पाण्डेलाई दैनिकीले भ्रमण भनेर नयाँ वर्षको अवसर पारेर कार्यालय नै बन्द गरेर जनप्रतिनिधि लुम्बिनी घुम्न गएको भन्ने प्रश्न गर्दा उनले भने, ‘लुम्बिनी भित्रका पालिकाहरूमा केही सिक्ने कार्यक्रम बनाएर चार पाँच दिनका लागि जानु भएको छ । अध्ययन र अवलोकन गर्नुहुन्छ होला । म चाहिँ गइन । अहिले म पनि नगरपालिकामा छैन ।’

बेलकोटगढीका जनप्रतिनिधि र शाखा प्रमुखहरू नयाँ वर्ष मनाउन घुम्न गएपछि कर्मचारीहरू भने कार्यालयको डिलमा घाम तापेर बसेका छन । कार्यालय सुनसान नै बनेको छ । यसअघि प्रमुख र उपप्रमुख भारत जाँदा नुवाकोटको बेलकोटगढी नगरपालिकामा सार्वजनिक विदा दिइएको थियो ।

राति राति खोलामा नक्कली भ्याटबिल बोकाएर पार्टी कार्यकर्ता परिचालन गर्ने देखि प्रमुखको सरकारी क्वाटरमा पार्टीका कार्यकर्ता पाल्नेसम्मको काममा नगरपालिका लागेको भन्दै कतिपय जनप्रतिनिधले नै आलोचना गर्दै आएका छन । केहीदिन अघि सामाजिक सञ्जालमा शिक्षक सरूवाका सम्बन्धमा प्रश्न उठाउँदा एक जना नागरिकलाई स्पष्टिकरण सोधेर धम्की दिने काम नगरको नेतृत्वले गरेको थियो । स्रोतका अनुसार एक शिक्षकले सरूवाका लागि एक लाख ५० हजार रूपैयाँ एक विचौलिया मार्फत घुस खुवाउँदा पनि सरूवा नभएपछि विषय बाहिर आएको चियापसलमा चर्चा हुने गरेको छ । केही सयमअघि उपप्रमुखले नै ठेकेदारसँग घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १०:४८