१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

खुम्बु पासाङल्हामु गाउँपालिका जसले पर्यटन बोर्ड र टानले दुरूपयोग गर्ने टिम्स निषेध गर्यो


१९ चैत, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका संघीयताको सफल उदाहरण बनेको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बेचेर प्राप्त गरेको रकम दुरूपयोग गर्दै आएकोमा उक्त कार्डमा प्रतिबन्ध लगाएर खुम्बु पासाङल्हामू गाउँपालिकाले आफैँले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्क उठाउन सुरू गरेको थियो । त्यसका लागि गाउँपालिकाले कानुन समेत निर्णमा गरेको थियो । केन्द्रमा पुगेर दुरूपोग हुने गरेको रकम अहिले गाउँपालिकाले आफैँ संकलन गरेर गाउँको विकासमा खर्च गर्ने गरेको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट मात्रै छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरिसकेको छ । पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । आठ महिना अवधिमा ३१ हजार सात सय २५ जना विदेशी नागरिकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

सबैभन्दा बढी कात्तिक महिनामा ११ हजार छ सय तीन जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् । त्यसैगरि साउनमा तीन सय २३ जना, भदौमा एक हजार सात सय नौ जना, असोजमा एक हजार आठ सय दुई जना विदेशी पर्यटक खुम्बु पुगेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै मङ्सिरमा दुई हजार आठ सय जना, पुसमा एक हजार तीन सय दुई जना, माघमा छ सय दुई जना र फागुनमा दुई हजार पाँच सय ८४ जना विदेशी पर्यटकले सो क्षेत्र भ्रमण गरेको गाउँपालिकाका लेखा अधिकुत चेतनाथ कटेलले जानकारी दिए ।

पालिकाले स्थानीय शुल्क स्वरुप एकजना विदेशी पर्यटकबाट रु दुई हजार प्रवेश शुल्क लिने गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले विसं २०७४ देखि शुल्क लिन सुरु गरेको थियो । त्यसअघि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले टिम्स कार्डवापत पर्यटक बापत् रु दुई हजार शुल्क लिने गरेको थियो ।

गाउँपालिकाले लिएको शुल्कले पर्यटन पूर्वाधार निर्माणलगायत काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिए । विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कोङ्दे, आमादब्लमलगायतका हिमशृङ्खला खुम्बु पासाङल्हामू गाउँपालिकाभित्र पर्छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०८:०२