१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न तयार छः महासचिव पोखरेल


१० चैत, कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभएको छ । एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “माओवादी केन्द्रलगायतसँगकाे नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो । हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौँ ।”

कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उहाँकाे भनाइ थियाे । नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अगालेर अगाडि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । केही हप्ताअघि माओवादी केन्द्रसँग भएको समीकरण देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले भएको दाबी उहाँको छ ।

नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको उहाँले बताउनुभयो । नेपाली युवाले विदेशबाट पठाएको पैसा घरखर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उहाँले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गर्नुभयो ।

विसं २०४७ को संविधान केही कमजोरी भएकाले पूर्वराजा ज्ञानेन्द्रले चलखेल गर्ने बाटो पाएको बताउँदै महासचिव पोखरेलले अहिले पनि पुराना पार्टीलाई कमजोर बनाउन अनेकौँ षड्यन्त्र भइरहेको दाबी गर्नुभयो ।

एमाले सचिव गोकर्ण विष्टले देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । जबसम्म देशलाई समृद्धितर्फ लैजान सक्दैनाँै तबसम्म नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जाने क्रम नरोकिने विष्टको भनाइ छ ।

सो अवसरमा नेता पद्मा अर्याल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, संसद् विद्या भट्टराईलगायतले ११औँ अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । महाधिवेश दुई दिनसम्म चल्ने छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार २१:००