१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम


१० चैत, धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो ।

गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा ससघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताउनुभयो । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गर्नु भएको थियो ।

सुन्तलाका बोट सुक्ने, मर्ने तथा भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले बताउनुभयो ।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

सुन्तला खेतीका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएकाले किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तालिमको व्यवस्था गरिएको हो । पालिकाले सो क्षेत्रमा किसानलाई प्रोत्साहनस्वरुप पाँच हजार उन्नत जातका विरुवा बाँड्ने योजना बनाएको जनाइएको छ । यो वर्ष यहाँका किसानले रु दुई करोडभन्दा बढीको सुन्तला बेचेका थिए । धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ल,े सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ सुन्तला उत्पादनका निम्ति प्रसिद्ध छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ०८:१७