१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँः मन्त्री बस्नेत


९ चैत, पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उनले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताए ।

“गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ । अहिलेका प्रधानमन्त्रीले विसं २०२८/२९ तीर यही क्याम्पसमा पढ्नुभएको थियो । उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु”, मन्त्री बस्नेतले भने ।

उनले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल (क्रान्तिकारी)ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताए । मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गरे ।

हरेक नागरिकले देशको भविष्यप्रति गर्व गर्ने अवस्था सिर्जना गर्दै राष्ट्रको विकासका लागि उच्च मनोबल र गौरवको सन्देश बोकेर लाग्नुपर्नेमा उनले जोड दिए । मन्त्री बस्नेतले क्रान्ति सफल भएको दुई दशकमा नै सफलता हासिल भएन भनेर लिन नहुने बताउँदै सुशासन, सामाजिक न्यायसहितको विकासलाई पूरा गर्ने उद्देश्यसहित सरकार अगाडि बढिरहेको बताए ।

नेपालमा ऊर्जा उत्पादनको एक सय १२ वर्ष पूरा भएको बताउँदै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको जानकारी दिए । “विसं १९६८ मा पहिलोपटक ऊर्जा उत्पादन सुरु भयो । त्यो बेलादेखि २०४६ सालसम्म ७८ वर्षको अवधि दुई सय ५० मेगावाट उत्पादन भएछ । विसं २०४८ देखि २०६२/६३ सम्म २५० थप भई पाँच सय मेगावाट उत्पादन भएको देखिन्छ । विसं २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो तथ्यले पनि देश उन्नतितर्फ गइरहेको देखाएको छ”, मन्त्री बस्नेतले भने ।

उनले १० वर्षमा गरिएको कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेको भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताए । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष एवं बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानोभन्दा सानो काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्ने सन्देश विद्यार्थीले दिन सक्नुपर्ने धारणा राखे । उनले उक्त कुराबाट प्रेरित भएर उच्च शिक्षा हासिल गर्दै देशको अवस्था परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गरे ।

सहयात्रीले हरेक क्षेत्रबाट देशको विकासमा योगदान गर्न सक्नुपर्ने भन्दै हाम्रा पुर्खाले पाखोपखेरो खनेर बनाएको मुलुकको विकास र समृद्धिको लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिए। “पढ्दै नपढेको व्यक्तिले पनि लामो समय एउटा काममा निरन्तरता दियो भयो भने त्यो क्षेत्रमा विज्ञ हुन सकिन्छ”, उनले भने, “तसर्थ निरन्तर प्रयास, आत्मविश्वास र धैर्यतासहित अध्ययन वा आफूले गरिरहेको काममा लाग्नुपर्दछ ।” कार्यक्रममा उपप्राध्यापक शारदा लामिछानेसहित अखिल (क्रान्तिकारी)का केन्द्रीय पदाधिकारीले समेत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १४:००