१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सहकारीका ऋणीहरुलाई समयमै ऋण चुक्ता गर्न काठमाडौं महानगरको आग्रह


५ चैत, काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहकारी संघ सस्थाका ऋणीहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै सहकारी संस्थामा तरलताको समस्याले सदस्यहरुको बचत फिर्ता गर्न नसकेको अवस्थामा ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न  आग्रह गरेको हाे ।

ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा कानुन बमोजिम कारबाही गरिने महानगरले जनाएकाे छ । संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ ।

प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो । , सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गर्न महानगरपालिकाले आग्रह गरेको । अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने महानगरपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ११:४४