१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सुन तस्करीमा संलग्न पूर्व गृहमन्त्री कृष्णबहादुर महरा पक्राउ


५ चैत, काठमाडौँ । सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री समेत रहेका महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले दैनिकीलाई जानकारी दिए । पश्चिम नेपालको नाका हुँदै महरा भाग्न खोजेको सूचना पाएको प्रहरीले उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको हो ।

रुपन्देहीको धकधईमा सोमबार बिहान माओवादी नेता वकिल मुसलमानको घरमा खाना खाईर कपिलवस्तुतिर लागेका महरा त्यही पक्राउ परेका हुन । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याउने तयारी गरिएको छ । सुन तस्करीमा संलग्न भए पनि फलफूलको व्यापारका बारेमा चिनियाँसँग कुरा भएको भनेर पन्छिन खोजेका महरा सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनपछि पक्राउ परेका हुन ।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको थियो यद्यपी माओवादीकै सरकार भएका कारण उनी जोगिदै आएका थिए । चिनियाँ तस्कर र उसको समूहसँग महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको प्रहरी अुनसन्धानबाट पुष्टि भएको थियो ।

भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा यसअघि महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाइएको छ । प्रहरीले महराविरूद्ध संगठित अपराध कसुरमा अनुसन्धान गर्दैछ ।

महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ ।

दुबईबाट गत पुस १० मा सुन लुकाएर ल्याएको भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि त्यसलाई छुटाउने प्रयास गरेका थिए । सुरुमा भेपमा सुन छ भन्ने भन्सारका कर्मचारीले पत्तै पाएका थिएनन् । चिनियाँ नागरिक दाओजिन वाङले भेप छुटाउन महरा र उनका छोरा राहुलमार्फत भन्सारका कर्मचारीलाई दबाब दिएका थिए । बाबुछोराले त्यस क्रममा भन्सारका कर्मचारीलाई फोन र भेटेर दबाब दिए । तर, जफत सामान लिलामी प्रक्रियामा जाने भन्दै कर्मचारीले कुरा नसुनेपछि सामान गोदाममै रोकियो । सामान लिलामी प्रक्रियामा लैजान प्रक्रिया अघि बढाउनु अगावै भेप गोदामबाट चोरी भएपछि मात्रै त्यसभित्र ९ किलो सुन रहेको खुलेको थियो ।

महरा निष्कलंक नेता भने होइनन । यसअघि २०६७ भदौमा सार्वजनिक एक अडियोमा महराले चिनियाँ नागरिकसँग ५० करोड मागेका थिए। अडियो प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने भन्दै उनीसँग ५० करोड रुपैयाँ मागिएको थियो। सांसद किनबेचको विषय नेपाली राजनीतिमा नयाँ थिएन । तर, मूल्य नै तोकेर फरक देशका नागरिकसँग रकम मागिएपछि त्यसले केही समय चर्चा पायो । तर, महराले अडियोमा बोल्ने आफू नभएको र प्रविधिको युगमा कसैले त्यस्तो अडियो बनाएको हुन सक्ने भन्दै बचाउ गरे र माओवादी निरन्तर सत्तामा रहेका कारण उक्त अडियोका बारेमा खासै छानविन नै भएन ।

महरा २०७३ पुसमा अर्थमन्त्री भए । कास्कीको  पोखरामा आयोजित एक कार्यक्रममा उनले त्यतिबेलाको चर्चित सुनकाण्डबारे प्वाक्क बोले । तस्करी गरी ल्याइएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको थियो । सो प्रकरणमा त्यसमा आफू भुरा माछा मात्रै भएको भन्दै स्वयंले सुन तस्करीको संलग्नता सार्वजनिक मञ्चबाटै स्वीकार गरे । उनले त्यतिखेर भनेका थिए ‘पछिल्लो सुन तस्करी काण्डमा मेरो त नाम पनि जोडिएर आएको छ, हामी त फगत पात्र हौं, म सबै कुरा अहिले भन्न चाहन्नँ । यसमा धेरै ठूलाठूला माछा छन्। हामी त भुरा माछा मात्र हुन्छौं ।’ उनको अभिव्यक्तिपछि अर्थमन्त्री नै तस्करीमा संलग्न भन्दै सर्वत्र बिरोध भयो तर माओवादी निरन्तर सत्तामा रहँदा उनी निर्धक्क अरू गतिबिधिमा लागे ।

यतिमात्र होइन महरामाथि लडाकु शिविरको रकम हिनामिना गरेको गम्भीर आरोप पनि छ । जुन महरामाथि लागेको आरोपहरू मध्येको सबैभन्दा गम्भीर हो । यो विषय आजसम्म पनि माओवादी नेतृत्वलाई टाउको दुखाइको विषय बनिरहेको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा उनीहरुको सेना व्यवस्थापन र भरणपोषणका लागि राज्यले करोडौं रकम खर्च गरेको थियो । तर त्यो पैसा लडाकुलाइ नदिइ नेताहरूले हिनामिना गरेका थिए । लडाकु शिविरमा भ्रष्टाचार भएको कुरा महालेखाको कार्यालयले देखाएको बेरुजुले नै प्रस्ट पारिसकेको छ ।

महराको सुनभन्दा अघि सभामुख भएको समयमा एक जना महिला माथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । जसको कारण उनको सभामुखको जागिर नै गएको थियो । यद्यपी यस प्रकरणमा अदालतले महरालाई निर्दोष सावित गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १०:४८