१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ


५ चैत, धनुषा । माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् । यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका पति मोतिबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा उनको हत्या भएको दाबी गर्दै सासू, ससुरा, श्रीमान्, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो । सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पति मोतिबाबु र ससुरा मदनमोहनमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो । आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौँमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछि सर्वोच्च अदालतले भने श्रीमान् मोतिबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

रवि लामिछाने गृहमन्त्री भएपछि आन्दोलनरत साहका माइतपक्षसँग केही दिनअघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत घटनाको पुनःअनुसन्धान गर्नेलगायत पाँचबुँदे सहमति गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १०:३६