१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

श्रीमानको शव उठाउन पैसा नपाएकी नुवाकोटकी माइली राईलाई १८ लाख सहयोग


४ चैत, काठमाडौँ । नुवाकोट काठमाडौँ पत्रकार समाजले नुवाकोट, लिखु–४ रानीभार निवासी रिक्सा चालक पाण्डव राईको परिवारको सहयोगार्थ  सङ्कलित रु तीन लाख एक सय पाँच  आज हस्तान्तरण गरेको छ । हाल कामपा खुसीबुँ बस्ने रिक्सा चालक राईको गत फागुन २६  गते ५६ वर्षका उमेरमा निधन भएको थियो ।

उहाँको परिवार शव परिवहन, शवदहन र किरिया खर्चका अभावले बिलखबन्दमा परेकोे देखेर समाजले देशविदेशबाट रकम सङ्कलन गरेको थियो भने  प्रेषित समाचारबाट थाहा पाएका अन्यले पनि सहयोग गरेका थिए । सोअनुसार राजधानीका पत्रकार, व्यवसायी, साहित्यकार, चिकित्सक, समाजसेवीबाट रु ३० हजार एक सय पाँच र पत्रकार रामचन्द्र भट्टका संयोजनमा अमेरिका, टेक्सास नुवाकोट समुदायबाट रु दुई लाख ७० हजार सङ्कलन भएको थियो । अन्य समाजसेवीबाट पनि करिब रु १५ लाख गरी हालसम्म रु १८ लाख उठिसकेको स्व पाण्डवका छोरा सरोजले जानकारी दिनुभयो ।

किरियामा उहाँकी आमा माइली पनि रहनुभएको छ । पत्रकार समाजका अध्यक्ष रमेश जमकट्टेलका नेतृत्वमा पशुपति क्षेत्र विकास कोष, किरियापुत्री भवन (कोठा नं १०७) मा पुगेको टोलीले रकम हस्तान्तरण गरेको हो । पूर्वप्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्व राईको दाहसंस्कारका साथै  पीडितलाई अन्य सहयोग गर्नुभएको थियो । राईको शव उनकै रिक्सामा राखेर परिवारका सदस्यले चलाउँदै, घचेट्दै पशुपति, विद्युतीय शवदाहगृहमा पु¥याएका थिए । राससको सहयोगमा

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार २१:३२