१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सरुवा बढुवा र नियुक्तिका लागि ‘सोर्स फोर्स’ लाउनेको ०.५ नम्बर घटाउने शिक्षामन्त्रीको चेतावनी


४ चैत, काठमाडाैँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवा र नियुक्तिका लागि ‘सोर्स फोर्स’ लाउनेको ०.५ नम्बर घटाउने चेतावनी दिएकी छिन । विभिन्न नामममा विचौलियाहरू सक्रिय भएको सूचना प्राप्त गरेपछि आइतबार शिक्षामन्त्री श्रेष्ठले सामाजिक सञ्जाल मार्फत यस्तो चेतावनी दिएकी हुन । उनले कसैले पार्टीको वा आफ्नो नाम बेचेको जानकारी पाए उजुरी दिन अनुरोध समेत गरेकी छिन ।

उनले भनेकी छिन, ‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: [email protected] । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ।’

त्यस्तै उनले भर्ना गर्न वा छात्रवृत्ति पाउन मन्त्रीवा शिक्षा मन्त्रालयका कर्मचारीको नाम लिएर बार्गेनिक गरेको थाहा पाए पनि कारबाही गर्ने बताएकी छिन । उनले भनेकी छिन, ‘कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला।’

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १२:४१